सांकेतिक तस्वीर

काठमाडौँ– काठमाडौँको टोखामा श्रीमान श्रीमती नै मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार शुक्रबार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरी अनुसन्धान अनुसार उमेश केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्किएको खुलेको छ । घटनाको कारण भने खुलेको छैन । डिएसपी विष्टले खबरहबसँग भने, ‘घटना कसरी घट्यो भन्ने नखुले पनि श्रीमान श्रीमतीबीचको विवादले यो अवस्था ल्याएको देखिन्छ । घटनाबारे अनुसन्धान जारी छ ।’

सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद बढेको थियो । यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उमेशको शीरमा चोट पटक देखिएको छ। घटनास्थल नजिकै रगत लागेको ढुँगा समेत भेटिनुले थप शंका जन्माएको हो। अहिले शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पठाएको छ ।