काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरुले प्रधानमन्त्री नबनाएको भए उनी केवल झापाको सासद भएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभाअन्तर्गत आफ्नो क्षेत्रमा शनिवार  सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै उनले ओलीलाई सांसदले प्रधानमन्त्री नबनाएको भए उनी केवल झापाको सांसद हुने बताएका हुन् ।

उनले भने, ‘ झापाको सांसद हो केपी ओली, म काठमाडौंको भएजस्तै । यो सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो ।’

थापाले ओलीले उनलाई प्रधानमन्त्री बनाउने प्रतिनिधिसभा विघटन गरेर आफ्नै घरमा आगो लगाइ रमाएर नाँचेको बताएका छन् ।

उनले भने, ‘२०७९ सालमा म फेरि भोट माग्न आउनुपर्ने थियो । तर, दुई वर्ष अघि आउनु परेको छ । हाम्रो रहर होइन्, बाध्य भएर आएका हौं । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर देशलाई पछाडी धकेलेका छन् ।’

बूढानीलकण्ठ नगरपालिकाका  विभिन्न वडा बाट र्याली सहित आएको जुलुस ह्यान्ड बल मैदानमा आएर सभामा   परिणत भएको थियो ।

सभामा प्रतिनिधि सभा सदस्य दिव्यमणि राज भण्डारी , बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ,क्षेत्रीय सभापति राजु श्रेष्ठ ,बागमती प्रदेस सभा सदस्य राधा घले ,नेपाल विद्यार्थी संघका महामन्त्री मनोज बैध लगायत उपस्थिति थिए   ।