काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यो भन्दा अघि नभएका काम यो सरकारले गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले असाधारण र ऐतिहासिक रुपले काम गरेको दाबी गरेका हुन् ।

‘सरकारको काम सबैले देखेका छन् । तर, देखे पनि नदेखेकाजस्तो गरेका छन् तर, काम भएका छन् । असाधारण, ऐतिहासिक र दु्रततर ढंगले काम भएका छन्’ ओलीले भने, ‘योभन्दा पहिले कहिल्यै यसरी काम भएका थिएनन । तथ्य र आँकडाले यही बताउँछ ।’

ओलीले गएको एक आर्थिक वर्षमा ९७९ किमी सडक कालोपत्रे भएको दाबी गरे । कृषिको आधुनिकीकरण, व्यवसायिकका लागि काम भएको उनको भनाई छ ।

चाँदनी दोधारमा सिंचाईंको लागि थप १० क्युसेक पानी थप दिने समझदारी भएको उनले बताए । ६ महिनाभित्र डिपिआर गरेर चाँदनी दोधारामा सिंचाईं गर्ने उनको भनाई छ ।

सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, हरेक प्रदेशमा निर्माण हुने उनको भनाई छ । शिक्षा, स्वास्थ्यमा धेरै नै प्रगति भएको दाबी उनले गरे ।

‘सरकारले विकास निर्माणको कामलाई तीव्रताको साथ अघि बढाएको थियो । शिलान्यासमा लेउ लागिसकेको थियो । काम भएको थिएन । सिन्कोसमेत भाँचिएको थिएन तर रानी पोखरी निर्माण गरियो । सात लाख घरहरु निर्माण गरेर जनतामा वितरण गरियो । ऐतिहासिक र सांस्कृतिक धरोहरको पुनर्निर्माण भयो । तर, सरकारका काम सबैले देखेका छन् । काम भएनन् भन्ने होइन’ ओलीले भने, ‘धरहराको निर्माण सम्पन्न हुने बिन्दुतिर पुगेको छ । तर, साथीहरुले देख्नुभएको छैन । काठमाडौंको बाटो, सहरको सौन्दर्यकरण भएका छन् । सरकार बन्नु अघि तराईमा कहीं ढलको व्यवस्था थिएन । अहिले सयौं किमी ढल तराईंमा बनेको छ । तराईंमा ६ हजार हेक्टरमा थप सिंचाई भएको छ । ९२ प्रतिशत बढी विद्युतीकरण थपिएको छ ।’