हरेक वर्ष पुष २७ राजा पृथ्वीनारायण शाहकाे जयन्ति पर्दछ । नेपाल राज्यकाे एकिकरण गर्ने राजा पृथ्वीनारायण शाह नेेपालमा राजतन्त्र गएसँगै ओझेलमा परेका छन् । उनकाे याेगदानलाइ विशेषगरेर कम्युनिस्टहरूले कम आँकलन गर्दा राज्यले दिँदै आएकाे एकदिने राष्ट्रिय एकता दिवशकाे सार्वजनिक बिदा पनि गणतन्त्रसँगै खाेसिएकाे छ । यतिखेर सिंगाे नेपाल राजा पृथ्वीनारायण शाहलाइ राम्राे भन्ने कि नराम्राे भन्ने बारे दुइधारमा बाँडिएकाे छ ।

आज पुष २७ नेपाल राज्यका एकिकरणकर्ता तथा नेपालीलाइ एकसूत्रमा बाँध्ने स्वर्गीय राजा पृथ्वीनारायण शाहप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै कवि कृष्णशरण उपाध्यायकाे याे कविता प्रस्तुत छ ।
यौटा व्यक्ति थियो
………………………………………………………
यौटा व्यक्ति थियोे अनन्त सपना , बोकेर हिँड्थ्यो यहाँ
सत्ता को परिवार को सुख सबै , छोडेर भिड्थ्यो यहाँ
मोती झैँ असरल्ल राज्य छरिँदा , चिन्ता उसैले लियो
सारा राज्य उनेर एक गतिलो , माला बनाई दियो ।
त्यो कालो रजनी समान युग मा , ऊ स्वप्नद्रष्टा थियो
लड्थे आपस राज्य राज्य सब ती , ऊ देशस्रष्टा थियो
आगो खेल्न रुचाउँथ्यो समर मा , मान्दैनथ्यो हार ऊ
पीडा जत्ति पचाउँथ्यो मुलुक को , बोक्थ्यो सधैं भार ऊ ।
त्यो बेला त्यति दिव्य चिन्तन दियो , नेपाल का खातिर
आँखा भव्य दियो र `दर्शन´ दियो , नेपाल का खातिर
रैती का बिच आत्मनिर्भर हुने , शिक्षा उसैले दियो
बैरी देखि सधैं सतर्क रहने , दीक्षा उसैले दियो ।
जे गर्दा धन बाहिरिन्न जन को , भित्रिन्छ मुद्रा अरू
देशै भित्र नयाँ नयाँ किसिम का , उद्योग खोल्नू बरु
भन्थ्यो देश बचाउँथ्यो र बलियो , पार्थ्यो कुनै वीर ले
जो जल्थ्यो दिनरात शान्त नबनी , यो देश को पीर ले ।
साह्रै दु:ख गरेर आर्जित हुँदो , यो देश उद्यान हो
सारा जात र जाति फूल सरि हुन् , जो देश को शान हो
एस्तो सोच लिने महापुरुष को , के जन्म होला यहाँ
नेता उत्तम पाउने मुलुक मा , सौभाग्य हाम्रो कहाँ ।
बस्ती अन्त लगेर ;देश भर का , खानी चलाई लिनू
खेतीयोग्य जमीन व्यर्थ नरहोस् , बाली खुलाई दिनू
जो छन् घूस लिनेे दिने मुलुक मा , ती देश का शत्रु हुन्
भन्दै चुस्त दुरुस्त शासन दिने , त्यो वीर को हो चिनून् ।
……………………………………
छन्द : शार्दूलविक्रीडित