काठमाडौँ । सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रतिमा सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गरिएको भन्दै नेकपा निकट पत्रकारहरुको भगिनी संगठन प्रेस संगठन नेपालले विज्ञप्ति जारीगर्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संगठनका संयोजक महेश्वर दाहाल द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली सहित सञ्चार माध्यमहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गरिनु खेदजनकरहेको लेखेका छन् ।

हेनुहोस् विज्ञप्ति 

प्रेस विज्ञप्ति
रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यही मिति २ माघ २०७७ मा जारी विज्ञप्तिमा आचारसंहिता र कानुनको हवाला दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गरिएको छ । न्यायको सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली सहित सञ्चार माध्यमहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गरिनु खेदजनक छ ।

हामीले गरिमामय न्यायपालिकाको स्वच्छता र विश्वसनीयताप्रति गहिरो भरोसा राख्दै आएका छौं । तर प्रेस तथा अभिव्यक्ति स्वातन्त्रतामाथि अंकुश लगाउने गरी ‘कानुनी कारबाही’को धम्कीसहित जारी विज्ञप्तिले हामी सशंकित बनेका छौं ।

अर्कोतिर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संबिधानमाथि प्रहार गर्दै ५ पुस २०७७ मा सरकारले चालेको असंवैधानिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हुने आंशका पैदा भइरहेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम २०६२÷०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको यो संबिधान विरुद्धको प्रहार प्रकारन्तरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम पनि हो ।

यही सिलसिलामा सर्वोच्च अदालतले प्रकाशित समाचारकै आधारमा सञ्चार माध्यमको नामै किटेर कानुनी कारबाहीको धम्कीलाई हामीले गम्भीर रुपमा लिएका छौं । हामीलाई गहिरो विश्वास छ, सम्मानित सर्वोच्च अदालत आफ्नो गरिमामय विरासत र इतिहासलाई निरन्तता दिदै प्रेस तथा अभिव्यक्ति संरक्षक बन्नेछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सबै एकजुट बन्न पनि प्रेस संगठन, नेपाल हार्दिक अपिल गर्दछ ।
मिति ः ३ माघ २०७७
महेश्वर दाहाल
संयोजक