नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले घोषणा भएको निर्वाचन हुनै नसक्ने बताएकी छन् । बागमती प्रदेशको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै शाक्यले वर्तमान समय प्रतिगमनकारीविरुद्ध उत्रिनुपर्ने भएकोले निर्वाचन हुनै नसक्ने बताएकी हुन् ।

‘आफूलाई गणतन्त्रको प्रधानमन्त्री भनिरहेको छ । जनताले फेरी पनि हामीलाई भोट दिन्छ ? चुनाव गर्नका लागि फेरी चुनाव घोषणा भएको हो ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘पाँच वर्ष थेग्न नसक्नेलाई चुनाव गराउने भन्ने कहाँबाट हिम्मत आयो । यो भ्रम हो। भ्रममा कोही नपरौँ । जनताका अगाडि के जवाफ दिने होला ? कसरी मुख देखाउने ?’

उनले प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएको आरोप पनि लगाइन् । ‘प्रधानमन्त्रीलाई हामीले प्रतिगमनकारी भनेका छौँ । कम्रेड पनि भन्दैनौँ। ग्रणतन्त्रलाई प्रहार गरेको छ, धावा बोलेको छ। सिंगो व्यवस्थामाथि प्रहार गरेको छ’ उनले भनिन्, ‘आज संघीयतामा तुसारापात लागेको छ । त्यसो भएकोले हामी आन्दोलनमा छौँ। प्रतिगमनको विरुद्ध आन्दोलनमा छौँ ।’ केपी ओली नेतृत्वको सरकारले नेपालको भविष्य अन्धकारमा धकेलेको उनको भनाई छ ।