फोटो साभारः टेलिग्राफइन्डिया डट कम

काठमाडौँ । नेपालको सरकारी कागजातको दुरुपयोग गरी बेपत्ता भएका भनिएका व्यक्ति अनित थापाले आफु भारतीय नागरिक भएको दावी गरेका छन ।

काठमाडौँखबरलाई प्राप्त उनको नेपाली नागरिकता र भारत सम्बन्धका वारेमा काठमाण्डौखबरले “नेता भारतको, नागरिकता नेपालको !” भन्‍ने शीर्षकमा समाचार प्रकाशित गरेपछि उनले प्रेस विज्ञप्ति मार्फत म भारतीय नागरिक थिए अनि हुँ भनेका हुन् ।

हेर्नुहोस्  थापाले जारि गरेको विज्ञप्ति 

 

प्रेस विज्ञप्ति

आज नेपालबाट प्रकाशन हुने एउटा ई पोर्टल (kathmandukhabar) मार्फत मेराे नागरिकता विषय एउटा खबर छापिएको पाएँ। त्यो खबरलाई दार्जीलिङ जिल्लाबाट सञ्चालन गर्ने फेसबुक पेज अनि च्यानलले पनि सम्प्रेषण गर्यो। खबरमा भनिएको रहेछ कि अनित थापा नेपालको नागरिक हो अनि भारतको राजनीतिमा सक्रिय छन्।

१३ डिसेम्बर २०२० को दिन गोर्खा जनमुक्ति मोर्चाको सुकुनाको जनसभामा मोर्चाका अध्यक्ष विनय तामाङले भारत नेपाल मैत्री सन्धि १९५० भारतीय गोर्खाको समस्या अनि मुद्दा पार लगाउनुको निम्ति बाधा हो। यो सन्धिको धाराको पुनः मूल्याङ्कन (review) हुनु पर्छ भनेर मांग राखेका थिए। यो मुद्दा भारतीय गोर्खाको चिन्हारी अनि अस्तित्व बचाउने मुद्दा लाई बोकेर गोर्खा जनमुक्ति मोर्चा (विनय) अग्रसर भएको छ। आज यो मुद्दा विषय विभिन्न जमातहरु बीच चर्चा परिचर्चा चल्दैछ।

भारतीय गोर्खा हितको मुद्दा जब जब दार्जीलिङ पहाडले आवाज उठाउँछ तब तब गोर्खाको आवाज बन्द ठूलो राजनैतिक षड्यन्त्रको खेल सुरु हुन्छ। आज यही षड्यन्त्रको सानो खेल हो मेरो नागरिकता माथि औंला उठाउनु। छापिएको खबर झुटो हो। म यो खबरको खण्डन गर्छु।

म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोध खोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ।

गोर्खा हितको निम्ति हामी मैदानमा उत्रेका छौ, कुर्सीको निम्ति होइन। गोर्खाको चिन्हारी अनि अस्तित्वको निम्ति युद्ध लड्दा यस्ता लान्छना कति खाइन्छ खाइन्छ। तर लान्छना लगाउनु अघि प्रमाण सहित लान्छना लगाउन अति बेस हुन्छ। यस्ता लान्छनाले हाम्रो कार्यलाई अनि गोर्खा हितको आवाजलाई रोक्नु सकिन्न। गोर्खा अब षड्यन्त्रको शिकार सजिलो संग हुँदैन।

अनित थापा