काठमाडौँ– नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारण सभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो।

सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा निर्विरोध भएका हुन्।

त्यसैगरी कोषाध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी निर्विरोध भएका छन्। संघको सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिल बिक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यक मान सिंह, डम्बर पराजुली र प्रविण कुमार थापा चयन भएका छन्।

संघले फर्निचर उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कर नीति ल्याउन पनि सरकारसँग माग गरेको छ। हाल सरकारी निकायले पनि आवश्यक फर्निचर सामाग्री विदेशबाट आयात गर्ने प्रचलन बढेर जाने संघको ठहर छ।

संघका नवनिर्वाचित अध्यक्ष सुभेन्द्र जोशीले कोभिड १९ का कारण माग कटौति हुँदा व्यवसाय संकटमा परेको बताए।

‘फर्निचर उद्योगमा श्रमिकको पनि समस्या छ। यस्तै उद्योग खोल्ने ठाउँको पनि अभाव रहेकाले व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन सरकारसँग संघ आग्रह गर्छ,’ जोशीले भने।