लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे

काठमाडौँ । राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए र सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ’टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन ।

त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउने चलनले ०५२ सालसम्म निरन्तरता पायो ।त्यसपछि तोप पडकाउन बन्द भयो । लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे ।

बिस्तारै प्रविधिले फडको मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य बनेन । अहिले पनि समयको जनाउ दिइरहने घण्टा घरको घडीमा सायदै कसैको ध्यान जान्छ । न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन् । हात–हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था रहेन ।