• केशव पाठक

दुइ महिना अघिसम्म पनि नेपालकाे राजनीति यति संगीन र कठाेर माेडमा उभिन्छ भनेर कसैले साेचेकाे थिएन । एकाएकझैँ देखिएकाे राजनीतिकाे याे विद्रुपरूप कति डरलाग्दाे हुनेछ त्याे अझै देख्न बाँकी नै छ । केपि ओली र प्रचण्डकाे नेतृत्वमा रहेकाे नेकपालाइ  इतिहास निर्माणको सुनौलो अवसर  थियाे तर विपरित ध्रुवका यी दुइ पार्टी(एमाले र माओवादी केन्द्र) अकल्पनीय मिलन माटाको भाँडोझैँ फुटेकाे छ जाे सम्भवतः फेरि नजोडिने गरी फुटेकाे छ ।

नेकपाभित्रकाे याे फुटले उत्पन्न भएकाे विषम परिस्थिति सत्ताको छिनाझप्टी मात्रै हाे कि झैँ लागेे पनि मिहिन ढङ्गले हेर्दा याेभित्र रहेकाे अन्तर्य एवम् सार हेर्दा कम्युनिष्ट पार्टीकाे विधि, पद्दतिहरुलाई लागू गर्ने र तिनलाई कठोरतापूर्वक पालना गर्ने–गराउने कुरामा लामो समयदेखि चल्दै आएको उदासीनता र व्यक्तिवादी कुण्ठा पनि हुनसक्छ ।

ओली प्रचण्डकाे पार्टीभित्रकाे जे जे समस्या भए पनि ओलीकाे कदमसँगै अहिले देशको शासन प्रणाली  अस्तव्यस्तमात्र हैन ध्वस्त भएको  छ । पार्टीभित्र पावरफुल अध्यक्ष र संसदीय दलमा दुइतिहाइ पाएकाे पार्टीबाट शक्तिशाली बनेका प्रधानमन्त्री केपी ओली  निरंकुश हुँकारमा रमाउनु नै समस्या उत्पन्न हुनु थियाे । केपि ओलीभित्रकाे यही राजसी निरंकुशताले देशभित्र राजनीतिक अस्थिरता र अराजकतर्फ बढेन व्यवस्था र संबिधाननै बन्धकमा परेकाे छ ।

केपि ओलीले आफ्नाे कन्फिडेन्सलाइ गलत प्रयाेग गरेर राज्यका निकायहरू अधिनायकवादी शैलीमा कब्जा गरेकाले वर्तमान परिस्थिति उत्पन्न भएकाे हाे । यसकाे अर्थ याे अबस्था आउन प्रचण्ड, माधव नेपालहरुकाे भूमिका नै छैन भन्नेचाहिँ हैन । तर केपि ओलीकाे सनकका अगाडि उनीहरूका यावत् खराबी वामपुड्के नै देखिन्छ ।  प्रधानमन्त्री ओलीको प्रपञ्चले न्यायलयसमेत विवादमा परेकाे छ भने राष्ट्रपतिप्रति मानिसमा सम्मान नै सकिएकाे छ । ओलीकै कदमका कारण प्रधानन्यायाधीशलाइ सेटिङमा परेकाे गुनासाे बढिरहँदा ओलीभने पैसा बाँडेर सत्ताकेा आडमा शक्ति प्रर्दर्शन गरिरहेका छन् ।

विधि,शासन र प्रणालीहरुको गला घोटेर प्रधानमन्त्री ओलीले आत्मप्रशंसाकाे खेति गरिरहेका छन् ।  जनवादी केन्द्रीयताको नाममा ओलीले शिरमा राखिएको वा पुर्याएका व्यक्तिहरु(गाेकुल बास्काेटा, महेश बस्नेत आदि) को हालहुकुममा देशलाइ बन्धक बनाइरहेका छन्  ।  ओलीले अहिले मुलुकमा लादेको प्रतिगमनमा गाेकुल बास्काेटा र महेश बस्नेत प्रवृत्ति झन् ठूलाे र डरलाग्दाे बन्दै गएकाे छ ।

प्रधानमन्त्री केपी ओली र उनले नेतृत्व गरेको समूह यतिखेर प्रतिगमनको घोडा चढेर मुलुकमा एकछत्र मनोमानी शासन गर्ने दुस्वप्नमा छन् । यसका लागि शासनसत्ताको चरम दुरुपयोग भैरहेकाे छ । व्यक्तिगत सनकमा ओलीले संविधानलाई रछ्यानमा मिल्काउने कामका साथै व्यक्तिगत तुष्टीकरणको राजनीतिमा जनताका निर्वाचित थलो प्रतिनिधि सभालाई बली चढाएका छन् । ओलीकाे संविधानविरोधी, जनविरोधी र परिवर्तनविरोधी कदममा राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रत्यक्ष सहयाेग देखिन्छ भने ओलीका पछि लागिरहेकाे केही लाेभीपापी भीड “आइलवयु केपि ओली” भनेर भजन गाइरहेकाे छ । यसरी भजन नै नगाए पनि विपक्षी दलका शेरबहादुर देउवामा पनि ओलीकाे कदमका एकखाले मतियार हुन् कि भन्ने लाग्ने अबस्था देखिएकाे छ ।

के के न भाग पाउँछु भनेर कृतिम एकताकाे आधारमा पार्टी एक बनाएका प्रचण्ड यतिखेर केपि ओलीद्वारा व्याङ्ग गरिने प्रमुख पात्र भएका छन्  ।  प्रचण्डले माधव नेपाल पक्षलाइ साथ लिएर नेकपामा ठूलाे हैसियत देखाए पनि ओलीले त्यसलाइ परास्त गर्ने प्रपञ्च पहिल्यै तयार गरेकाे देखिन्छ । यसाे हेर्दा निर्वाचन आयाेग केपी ओलीकै पक्षमा उभिने देखिन्छ । प्रधानन्यायाधिस चाेलेन्द्रशमशेर राणाले पनि यदि आफूलाइ सेटिङमा बन्धक बनाए भने नेपाल बिधि, पद्धति र प्रणालीबाट बाहिरिनेछ ।

ओली आफै सत्तामा बसेर देशभर जनसभा भन्दै मानिस किनेर जात्रा देखाइरहेका छन् भने प्रमुख प्रतिपक्षमा रहेकाे नेपाली काँग्रेस यी सब दृष्य हेरेर सत्ता कताबाट पाइन्छ भन्ने दाउमा चुपचापझैँ छ । काँग्रेसले गरेका अलिअलि बिराेध सभापति देउवाका भावनाभन्दा पर भएर गरिएकाे हाे । तर राजनीतिक दलहरु तथा नागरिक समाजका सचेतवर्ग भने ओलीकाे प्रतिरोधी आन्दोलन छन् । प्रतिरोधी आन्दोलनको क्रममा ठूला ठूला जनसभाहरु समेत हुँदै आएका छन् ।

तथापि काँग्रेसबाहेककाे बिराेधसभामा त्याे लय र ताल मिलेकाे देखिदैन । प्रचण्ड माधवकाे बिराेधलाइ ओलीले साइबर सेना लगाएर सत्ताप्राप्तिकाे खेलमा परिणत गराएका छन् । याे अबस्थामा काँग्रेस जति चुप लाग्नेछ ओलीकाे प्रवृत्तिकाे मनाेबल त्यति नै बढ्नेछ । माधव प्रचण्डका ठूला ठूला सभा हुने बित्तिकै ओलीले त्याे भन्दा ठूलाे सभा गरेर देखाउन थालेका छन् ।  ‘देखाइदिने’ भावनाका साथ सरकारका नेतृत्व गरिरहेको ओली पक्षले पनि  आफ्ना प्रतिगमनकारी कदमलाई सही साबित गर्न जनसभा वा वृहत् सभा भन्दै  कुतर्कका सुनाउँदे आएका छन् ।

ओली शक्ति प्रदर्शनको यो विद्रूपरूपकाे पछाडि काँग्रेस सभापति शेरबहादुर देउवाकाे माैनता सबैभन्दा महत्वपूर्ण विषय बनेकाे छ । सत्ताप्राप्तिकाे माेहमा अन्धा भएका देउवा ओलीकाे यावत् नाैटंकीलाइ किन चुपचाप सहेर बसेका छन् धेरैलाइ बिझाउने विषय बनेकाे छ । ओलीका यी शक्तिप्रदर्शनका प्रहसनले गर्ने क्षति भनेको राजकीय सम्पत्तिको नै हो र यो नरोकिने हो भने त्यसले अन्ततः दुःख पाउने जनताले नै  हो भन्ने बुझाइ काँग्रेस र देउवामा आएन भने याे क्रम झन् बढ्नेछ ।  ।

राज्यसत्ताको बलमा शासन सत्तामा पुगेकाहरुले अपनाएको प्रतिगमनकारी कार्यहरु र तिनका मति अनि त्यसविरुद्ध उठिरहेका प्रतिरोधी आवाजहरुलाई ओलीले यतिखेर फगत सत्तासंघर्षको रोइलो भनेर प्रचार गरिरहेका छन् । याे प्रचारकाे लागि स्थानीय र प्रदेशका जनप्रतिनिधि मरिहत्तेगरेर लागि परेका छन् । ओलीले गरेका असंबैधानिक कदमकाे बिराेध निश्चित रुपमा त्यसमा सत्ता संघर्षका अभिष्टमात्र हैन भन्ने कुरा बुझाउन ओली समूहभन्दा बाहिरका सबै एकहुन आवश्यक देखिन्छ । मुलुकलाई राजनीतिको उल्टो हिँडाइमा जानबाट रोक्न तथा  प्रतिगमनको अँध्यारो सुरुङभित्र जाकिन नदिनका लागि काँग्रेसले आफूलाइ सशक्त बनाउनै पर्छ । देउवाले आफूलाइ सच्याउनै पर्छ ।