काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले योगेश भट्टराई प्रेस संगठन नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ । यो समूहको स्थायी कमिटी सदस्य रहेका भट्टराईलाई प्रेस संगठनको इन्चार्ज जिम्मेवारी दिइएको हो ।

नेकपा विभाजन हुनुअघि प्रेस संगठनको जिम्मेवारी राजेन्द्र गौतमले लिएको भए पनि उनी ओली समूहमा लागेको हुँदा जिम्मेवारी भट्टराईलाई दिइएको हो । संगठनको सहइन्चार्जको जिम्मेवारी यसअघि विदेश विभाग उपप्रमुख विष्णु रिजाललाई दिइएको छ ।

महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज थिए । उनीहरुलाई सोही जिम्मेवारी दिइएको छ ।प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको छ ।

सो समूहको केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।