नेपालकाे चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्री आयात सुरु हुन अझै केही समय लाग्ने भएको छ । हाल चीनमा मनाइने चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प छ भने केही महिना अघि देखि नै यहाँबाट दैनिक आयात हुने गाडीकाे संख्या नगन्य हुँदै गएकाे थियाे ।

तर मंगलबार रसुवागढी नाकाबाट बसेको दुई देशका सीमा सुरक्षा अधिकारीको बैठकमा चिनियाँ पक्षले सामग्रीको आयात सुरु हुन केही दिन लाग्ने बताएका हुन् ।

चिनियाँ अधिकारीले केही दिनमा आयात सुरु हुने भएपनि पहिले झै दैनिक पाँचवटा गाडीमा सामग्री ल्याउने संकेत गरेको छ । नेपाली अधिकारीका अनुसार चिनियाँ सामग्रीको आयात सुरु हुन केही समय लाग्नेछ । गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन् । केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरू बीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो ।

तर सहमति अनुसार सामग्री नआएको रसुवा भन्सारले जनाएको छ ।  २०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ ।

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।