प्रधानमन्त्री केपि ओलीकाे असंबैधानिक कदमपश्चात सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि अबको राजनीतिक कोर्स कता जाला भन्ने चासो सबैलाई छ। यतिबेला सबैको ध्यान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिने निर्णयमा अडिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध एक ढिक्का भएर सडकमा उत्रिन नसक्दा कांग्रेस पार्टीभित्रैबाट पनि आलोचित बनेको थियो। प्रतिनिधिसभा विघटनका विषयमा दोधारे नीति लिएको कांग्रेसले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएको ८ दिन भइसक्दा पनि ठोस निर्णय गरिसकेको छैन।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गतेका लागि आह्वान गरिएको छ। यहीँ सन्दर्भमा प्रतिनिधिसभाको बैठक हुनु भन्दा दुई दिन अगाडि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। फागुन २१ गते शुक्रवार अपराह्न १ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन्।

यता अब नेपाली कांग्रेसले कस्तो रणनीति बनाउला भन्ने चासो त छ नै कांग्रेसभित्र सरकारमा जाने र नजाने विषयमा दुई फरक मतसमेत रहेका छन्। यति हुँदा हुँदै नेपाली कांग्रेसले चितवनबाट बुधवार सरकारमा जाने सन्देश दिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन पुगेर प्रधानमन्त्री पाए सरकारमा जाने संकेत गरेका छन्। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन। काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ उनले भनेका छन्।

उनले यति हुँदाहुँदै पनि आफूले प्रधानमन्त्री पद नमागेको स्पष्ट भने पारे। कांग्रेसभित्रै सरकारमा सहभागी हुन नहुने भन्ने राय रहेको सन्दर्भमा उनले भने, ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्नुस्,’ कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको श्रञ्द्धाञ्जली सभामा सहभागी हुन चितवनको रत्ननगर पुगेका देउवाले अगाडि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेट्ने पनि गरिन्नँ, अथवा अवसर आएको खण्डमा भाग्ने कुरा पनि हुँदैन।’

अहिले सम्म नयाँ सरकार गठनको विषयमा मौन रहेका देउवाले प्रधानमन्त्री बन्न पछि नहट्ने प्रतिक्रिया दिनुले अर्थपूर्ण रुपमा हेरिएको छ।  सोही कार्यक्रममा चितवन पुगेका कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले पनि कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताए।

त्यसका लागि उनले प्रचण्ड-माधव नेपालको समूहलाई सहयोग गर्नुपर्ने बताए। उनले नेकपा फुटाउनका लागि भए पनि कांग्रेस सरकारमा सहभागि हुनुपर्ने बताए। ‘नेकपालाई टुटाउनेहो भने काङ्ग्रेस सरकारमा जानु पर्छ। नत्र भए त्यो भन्दा पहिलेनै टुट्छ भने सरकारमा गएर केही उपलव्धि हुँदैन,’ उनले भने।

त्यसका लागि सुरुमा प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताए। ‘सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनु पर्छ। त्यसका लागि संसदमा अविश्वासको प्रस्ताब दर्ता हुन्छ,’ कोइरालाले भने, ‘अविश्वासको प्रस्ताब काङ्ग्रेसले वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्छ। कांग्रेस र नेकपाको प्रचण्ड-माधव पक्ष मिलेर भएपनि ओलीजीलाई हटाउनुपर्छ। त्यसपछि मुलुकलाई निकास दिने र निर्वाचन गर्नसक्ने गरी कांग्रेस सरकारमा जानुपर्छ।’