बाेली र कार्यशैली दुवैका कारण दुनियाँलाइ आफू बिराेधी बनाएका प्रधानमन्त्रीले सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । के बाेली भनेर सम्भवतः हेक्का नपाउने व्यक्तिकाे गणनामा गनिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । कथित ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

क्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न संरचना उद्घाटन तथा शिलान्यासको अवसर जुराएर विभिन्न क्षेत्रमा पुग्ने र आफ्ना राजनीतिक विरोधीमाथि निर्मम टिप्पणी गरेर राजनीतिक स्वार्थ पूरा गर्ने लक्ष्य बनाएको देखिन्छ । केही दिनअघि पोखरामा पुगेर उनले आफ्नो सुरक्षामा खतरा रहेको र ज्यान नै गए पनि आश्चर्य मानिरहन नपर्ने बताएका थिए । फागुन १६, १७ र १८ गते उनी झापा, मोरङ र कास्कीका कार्यक्रममा व्यस्त रहे । यी तीन दिनमै दुई पटकसम्म उनी गृहजिल्ला झापा पुगे ।

प्रधानमन्त्रीको देश दौडाहा ‘सरकारले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको’ सन्देश दिन केन्द्रित छ । देशमा दैनिकजसो विभिन्न आयोजना, विकास निर्माणका भौतिक संरचना निर्माण भइरहेको दावी गर्नका लागि प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका कार्यक्रममा सक्रियता देखाएका हुन् ।

त्यसो त, कुनै पनि विकास निर्माणका काम शिलान्यास गर्दैमा देशको विकास भइहाल्यो भन्ने मानक आफैमा सही हुन सक्दैन । प्रधानमन्त्री ओलीले २०७५ चैत ८ गते लुम्बिनी प्रदेशमा दुई ठूला परियोजना शिलान्यास गरेका थिए । ठुलो तामझामका साथ शिलान्यास गरिएको बुटवल–नारायणगढ सडक स्तरोन्नति र रुपन्देहीमा बन्ने प्रदेशस्तरीय बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको काम दुई वर्ष बित्न लाग्दा पनि निराशाजनक छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतीको काम ४२ महिनामा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजना शिलान्यास भएको दुई वर्ष बित्न लाग्दा समेत अहिलेसम्म जम्मा ३ प्रतिशतमात्र काम भएको छ ।मेडिकल कलेजसमेत फास्ट ट्रयाकमा निर्माण गर्ने घोषणा गरे पनि अझै डिपिआरको कामसमेत पूरा भएको छैन । डिपिआर प्रतिवेदन आगामी साउनमा मात्र आउने कलेजको आयोजना प्रमुख मानबहादुर घिमिरे बताउँछन् ।
यद्यपि यस्ता कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास निर्माणलाई उच्च प्राथमिकता दिएको, आफ्नो नेतृत्वको सरकार रहुञ्जेल विकास निर्माणको रफ्तार जारी रहनेजस्ता दावी गर्दै आएका छन् । उनले आफूलाई विकास प्रेमी नेताका रुपमा देखाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको भए पनि जनताका पीडा, प्रत्यक्ष सरोकारका विषयलाई भने पटक्कै ध्यान दिएको देखिँदैन ।