काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुलाई एकतावद्ध गरेर पार्टी एकताको निम्ति दबाब दिने बताएका छन् । प्रचण्ड–माधव र ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने उनको भनाइ छ ।

बिहीबार कोभिड -१९विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको भन्दै दुबै समूहका युवा नेताका माध्यबाट एकता कायम राख्न दवाव दिने दाबी गरे ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । उनले दुबै अध्यक्षको भनाइ र भाषणहरुलाई हेर्ने हो भने एकताको पक्षमा नरहेको देखिएपनि त्यसका लागि बाध्य पार्ने उनको भनाइ छ ।

, ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सबै सभाहरुमा बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन‘ उनले थपे, ‘मेरो चाहिँ प्रयत्न दुवै पक्षका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गरी एकताको पक्षमा जनमत तयार गर्ने छ।‘

जो नेता एकताको पक्षमा उसलाई भोट नदिने रणनीति बनाउने योजना पनि उनले सुनाए। आफूहरूले चलाउन लागेको यस अभियानले चारैतिरबाट यी दुवै पक्षका नेतालाई घेराबन्दी गरेर एकताका पक्षमा दबाब दिने योजना पनि उनले सुनाए ।