प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र चौथो ठूलो दल जसपाबीच एमाले इतरको सरकार बनाउने विषयमा छलफल भएको छ।शुक्रबार देउवा निवास पुगेका जसपाका नेताहरु र कांग्रेस पदाधिकारीबीच एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प खोज्ने विषयमा ‘सकारात्मक’ छलफल भएको हो।

बैठकपछि कांग्रेस र जसपाका नेताहरुले आफूहरुको कुराकानी सकारत्मक भएको र माओवादीसँग छलफल गरेर एक दुई दिनमै निचोड निकालिने प्रतिक्रिया दिए।जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसले मिलेर अघि बढ्न प्रस्ताव गरेको जानकारी दिए। उनले भने, ‘अहिलेको सन्दर्भमा कांग्रेससँग सबै विषयमा छलफल भयो। उहाँहरुले मिलेर जाऔँ भन्नुभयो। तर अहिले नै सहमति भएको छैन। माओवादी केन्द्रसँग पछि छलफल गछौँ।’

तपाईंको नेतृत्वको सरकार बन्ने कुरा छ नि? भन्ने प्रश्नमा ठाकुरले पहिलोपटक राम्रो कुरा सुनेको प्रतिक्रिया दिए। ठाकुरले भने, ‘राम्रो कुरा पहिलो पटक सुनाउनुभयो।’ दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा जसपाका सांसदहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए।

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकार गठन र ओलीको विकल्पका बारेमा ठोस छलफल थालिएको बताए।पत्रबारहरुसँग उनले भने, ‘साझा धारणा बनाउने विषय कुरा भएको छ। यही विषयमा टुंगामा पुग्यौँ भन्ने बेला भएको छैन। कांग्रेसले अग्रसरता लिनुपर्छ भन्ने अपेक्षा उहाँहरुले राख्नुभयो।’

जसपासँगको छलफल भन्दा अघि बसेका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओलीको विकल्प दिनुपर्ने विषयमा नेताहरुले धारणा राखेको उनले बताए। ‘यो बैठकभन्दा पहिला बसकेको पदाधिकारी बैठकले पनि राष्ट्रिय राजनीतिका बारेमा, ओलीको विकल्पबारे उचित निकास लिनुपर्छ भन्ने कुरा भयो। पुस ५ गते साझा धारणा बनाउने काम भएको थियो, त्यो क्रम फेरि सुरु भएको छ। केही दिनमा परिणाम आउँछ। डेडलकलाई अन्त्य हुन्छ।’

अहिलको सरकारको विकल्प खोजिने भन्ने जिज्ञासामा शर्माले भने, ‘पदाधिकारी बैठकमा ओलीको विकल्प खोज्नुपर्छ भन्ने आवाज आयो, जसपाले पनि त्यहीँ भनेको छ। अवस्था परिपक्क भएको छैन।’ प्रवक्ता शर्माले माओवादी केन्द्रसँग पनि छलफल गरेर पार्टीले निर्णय लिने जानकारी दिए।माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व लिन पटक पटक आग्रह गरिसकेका छन्।