राजधानीबाट नजिकमा रहेकाे शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज राजधानीवासीकाे छाेटाे यात्राकाे मुख्य आकर्षण केन्द्र हुँदै गएकाे छ । बिदाकाे दिन पारेर निकुन्ज तथा निकुन्जभित्रकाे पवित्र बाग्द्वार जानेहरूकाे घुँइचाे लाग्न थालेकाे छ । पदयात्रा गर्नेहरुकाे घुँइचाेसँगै निकुन्ज तथा बागद्वार तिर्थ फाेहर हुन थालेकाे छ । यात्रीहरूले लिएर जाने पानीकाे बाेतलदेखि जंकफुडका प्याकेट एवम् प्लाष्टिकका झाेलाहरू निकुन्जकाे पदमार्गभरी छरिएका देख्न पाइन्छ । यसरी बढ्दाे फाेहर एवम् फाेहर व्यवस्थापनकाे अभावबीच बेलाबखत सफाइ गर्ने सामाजिक अभियान पनि संचालित हुने गरेकाे पाइन्छ ।

यसैबीच श्री गणेश मा.बि.चपली बूढानीलकण्ठ २०५४ साल सेरोफेराेका बिद्यार्थीले निकुन्ज एवम् बाग्द्वार क्षेत्रकाे एकदिने वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । साे स्कूलका पूर्व विद्यार्थीले फागुन २२ गते  श्री गणेश मा.वि. का पूर्व प्रधानाध्यापक तथा क्षेत्र नं ५ का सांसद श्री भीमसेन खत्रीलाइ प्रमुख अतिथि बनाएर सरसफाइ कार्यक्रम गरेकाे हाे । सरसफाइ कार्यक्रममा  सोहि विद्यालयका पूर्व सप्रअ श्री ब्रम्हदेव श्रेष्ठ पनि सहभागि थिए ।

पवित्र बाग्मती नदीको मुहान बाग्द्वार सरसफाइ कार्यक्रमलाई बरिष्ट साहित्यकार तथा गोरखापत्रका पूर्व अध्यक्ष बिजय कुमार चालिसेले आर्थिक पक्षकाे व्यवस्थापन गरेकाे साधुराम खड्काले बताए । खड्काकाे अनुसार सरसफाइ कार्यक्रमका लागि अन्य व्यक्तिले आ- आफ्नो पक्षबाट सहयोग गरेका थिए । सरसफाइ कार्यक्रममा ३ दर्जन ०५४ सेराेफेराेका विद्यार्थीकाे सहभागिता थियाे ।