• आकाश शर्मा

बुढानिलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकाेटाकाे सरूवा भएकाे छ । सापकाेटाकाे सरूवा भएकाे भन्दा पनि सापकाेटालाइ निहित स्वार्थका कारण सरूवा गरिएकाे भन्ने विषय यतिखेर सबैभन्दा अर्थपूर्ण एवम् चासाेकाे विषय बनेकाे छ । किन टिक्दैनन् बुढानिलकण्ठ नगरपालिकामा प्रशासकीय अधिकृत ? नगरपालिकामा त्यस्ताे के सेटिङ चल्छ जसका कारण प्रशासकीय अधिकृतक सरूवा भैरहन्छन् ? पछिल्ला समय केहि राम्रा र काम लाग्ने भनेर चिनिएका प्रशासकीय अधिकृतहरूकाे विना कारण भैरहेकाे सरूवाले नगरपालिकाभित्र केही न केही गम्भीर विषय भएकाे अनुमान गर्न सकिन्छ ।

भ्रष्टाचार नगर्ने भनेर आफैले भनिरहने मेयर उद्धव खरेल सदैव कर्मचारीलाइ गाली बर्साइरहने मेयर हुन् । खरेलले कुनै पनि कर्मचारीलाइ राम्राे भनेकाे आजसम्म सुनिएकाे छैन । यसै पृष्ठभूमिमा प्रशासकीय अधिकृतहरूकाे यसखाले सरूवा मेयरकाे स्वच्छ छविका कारण मात्र हाेला त ? कि मेयरकाे स्वच्छ छवि एक देखावा वा ढाेंग मात्र हाे ? मेयरकाे आवरणमा नीतिगत तथा अन्यखाले भ्रष्टाचार भएका थुप्रै उदाहरण भेट्न सकिन्छ । तर खरेलकाे काम नै जतिखेर पनि “म एकपैसा खान्न” भन्ने रहँदै आएकाे छ । उनी किन यसाे भनिरहन्छन् हाेला ? नखाए भैगाे नि म एकपैसा खान्न भनेर वर्षमा ६०० पटक किन भन्न परेकाे हाेला?  सामान्य लागे पनि याे प्रश्न गम्भीरझैँ लाग्छ । बैकुण्ठ प्रसाद सापकाेटाकेा सरूवासँगै यी प्रश्नहरू पूनर्ताजगि भएका छन् ।

उद्वव खरेलकाे राजमा प्रशासकीय अधिकृतकाे यत्राे लस्कर नै सरूवा हुनुले कतै न कतै नदेखिएकाे तर गम्भीर विषय रहेकाे अनुमान गर्न सकिन्छ । यतिखेर बैकुण्ठ प्रसाद सापकाेटाकाे सरूवासँग मेयरसँगै सुशासन समितिकाे संयाेजक बनाइएका वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराइ तथा नगर प्रमुखका सल्लाहकार सुन्दर पुर्काेटीकाे नाम जाेडिएकाे छ । सुशासन समितिमा भए पनि शम्भु भट्टराइ कर्मचारीप्रति नकारात्मक दृष्टि भएका मानिन्छन् । आफूलाइ मनपर्ने र नपर्ने क्याटागाेरीमा उनले कर्मचारीकाे आन्तरिक सरूवा गर्दै आएका थिए । केही कर्मचारीप्रति अनावश्यक सकारात्मक तथा केही कर्मचारीप्रति विनाकारण नकारात्मक हुने प्रवृत्तिका भट्टराइलाइ किन सुशासन समितिकाे संयाेजक बनाइयाे भन्ने विषय पनि सदैव प्रश्नकाे घेरामा रहने गरेकाे छ ।

एमाले नेता राजन भट्टराइका विश्वासिला कार्यकर्ता भनेर चिनिने शम्भु भट्टराइले सुरूदेखि नै प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकाेटालाइ नरूचाएकाे देखिन्थ्याे । “चुट्की बजाएकाे भरमा यस्ता जाबा प्रशासकीय अधिकृतलाइ हटाउन सक्छु” भनेर सार्वजनिकरूपमा भनेकाे कुरा पनि केही महिना अघि बाहिरिएकाे थियाे । राजन भट्टराइकै कारण वडाध्यक्ष हुन ल्याकत राखेका शम्भु भट्टराइ नै वैकुण्ठ सापकाेटाकाे सरूवाकाे मुख्य कारण हुनसक्ने बताइए पनि नगरप्रमुखका सल्लाहकार सुन्दर पुर्काेटीकाे नाम पनि जाेडिएर बाहिर आएकाे छ । सापकाेटा प्रशासकीय अधिकृत भएर आएपछि नगरमा पुर्काेटीकाे हालीमुहाली कम भएकाले पुर्काेटी ऐनकेन सापकाेटालाइ हटाउन चाहन्थे  । बेलाबखत पुर्काेटीले सापकाेटाका बारेमा चिया पसलमै असन्तुष्टि पाेखेकाे सुन्न पनि पाइन्थ्याे ।

जे हाेस्,  बुढानिलकण्ठ नगरपालिका प्रशासकीय अधिकृत फेर्नमा नेपालमै सम्भवतः एक नम्बरमा पर्न सक्छ ।  मेयरकाे चारवर्षे कार्यकालमा ६ जना प्रशासकीय अधिकृत फेरेकाेप्रति यसले दिने नकारात्मक सन्देशसँग काेही पनि सचेत भएकाे देखिदैन । मेयर खरेल तथा उनका आसेपासेहरूलाइ यसरी कर्मचारीकाे हाकिमलाइ फेरिरहँदा जनतामा नकारात्मक भावना पैदा हुनसक्छ भन्ने आभाष नहुनु बिडम्बना हाे । यिनै बिडम्बनाबीच मेयर खरेलमा अझै एकपटक मेयर हुने उत्कट चाहना पनि देखाइरहेका हुन्छन् ।