ब्राजिली स्वास्थ्य सेवा इतिहासकै सबैभन्दा बढी जोखिम अवस्थामा पुगेको छ । अस्पतालको ‘सघन उपचार कक्ष’मा शय्या उपलब्ध छैन् । थप बिरामी भर्ना गर्ने क्षमता गुमेको छ ।

ब्राजिली स्वास्थ्य प्रणालीमा सबैभन्दा नेतृत्वदायी भूमिकामा रहेको इन्स्टिच्युट फियोक्रजले २७ राज्यमध्ये दुई बाहेकमा सेवा क्षमता र बिरामी अटाउने क्षमताको ८० प्रतिशत नाघिसकेको जनाएको छ । रियो ग्रान्डे डो सुल राज्यका सबै अस्पतालमा सघन उपचार कक्षमा शय्या उपलब्ध छैन् । बीबीसीका अनुसार पछिल्लो चौबीस घण्टामा ब्राजिलमा हालसम्मकै सबैभन्दा बढी दुई हजार ८४१ सङ्क्रमितले ज्यान गुमाएका छन् । यसअघि मार्च १० मा हालसम्मकै सबैभन्दा बढी दुई हजार २८६ जना सङ्क्रमितको मृत्युको दत्र्ता गरिएको थियो ।

पोर्चुगिज भाषामा फियोक्रजले एक वक्तब्य जारी गरी “ब्राजिल भरि अत्यन्तै नाजुक अवस्थामा पुगेको” उल्लेख गरेको छ । “हाम्रो अनुसन्धानकत्र्ताले गरेको विश्लेषण बमोजिम स्वास्थ्य सेवा र अस्पताल इतिहासमै पहिलो पटक धराशायी हुने दिशामा गएको छ ।”– ब्राजिलको नेतृत्वदायी स्वास्थ्य सेवा प्रदायक फियोक्रजले वक्तब्यमा उल्लेख गरेको छ ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाउलोका स्वास्थ्य अधिकारीहरुले समेत नवनियुक्त स्वास्थ्य मन्त्रीलाई देशब्यापी लकडाउनको घोषणा गर्न सुझाएका छन् । ब्राजिलमा महामारी सुरु भए यता बुधबार मार्सेलो क्वेरोगा चौथो स्वास्थ्य मन्त्रीको जिम्मेबारी सम्हाल्न लागेका छन् । उहाँलाई राष्ट्रपति जायर बोलसेनारोले बुधबार स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन लागेकाे  हो ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै क्वेरोगाले हरेक ब्राजिलीलाई नियमित हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सुझाए । कोरोना महामारीले ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभाबित राष्ट्र हो । हालसम्म एक करोड १६ लाख ब्यक्ति सङ्क्रमित भएका छन् । करिब दुई लाख ८२ हजार सङ्क्रमितको ज्यान गएको छ । ब्राजिलमा हाल फैलिएको सङ्क्रमण कोरोनाभाइरसको अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रामक स्वरुप हो ।

ब्राजिलले जनसंख्याको करिब ४.६ प्रतिशत ब्यक्तिमा कोभिड विरुद्धको खोप पहिलो डोज लगाएको छ । अक्सफोर्ड र आष्ट्राजेनेकाको खोप उसले प्रयोगमा ल्याएको छ । फाइजर बायोएनटेकको खोप आपूर्तिका लागि समेत उसले सम्झौता गरेको छ ।