सरकारले विद्यालय बन्द गर्ने तयारी गरेकाे बताएपछि यसबारे बहश सुरू भएकाे छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका थिए ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीमा समेत छलफल गरिएको जानकारी दिएका थिए  ।

“कम्तीमा शहरी क्षेत्रका विद्यालय एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी रहेको छ”, मन्त्री त्रिपाठीले भने । उनले विद्यालय अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताएका थिए । उनले अहिलेको नयाँ भाइरस युवा र बालबालिकामा पनि देखिएकोले डर लाग्दोरहेको बताएका थिए  । “१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन”, उनले भने, “त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डर लाग्दो रुपमा फैलिन सम्भावना रहेको छ ।”

अहिलेको अवस्थामा संक्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएकोसमेत उहाँले जानकारी दिएका थिए  । १ महिना विद्यालय बन्द कहिलेबाट शुरू हुने बारे भने मन्त्री त्रिपाठीले केही बताएका थिएनन् । सम्भवतः  बैशाखकाे पहिलाे साता नै उपत्यकालगायतका देशका प्रमुख सहरका विद्यालयहरू बन्द हुने अनुमान गरिएकाे छ ।