• केशव पाठक

कोरोना भाइरसको दोस्रो लहरले नेपाललाइ डरलाग्दाेसँग गाँजिसकेकाे छ । सरकारले आवश्यक सुरक्षा उपाए नअपनाउँदा शहरी क्षेत्रका शिक्षालय काेराेनाकाे हब बन्ने अबस्थामा पुगेका छन् । विद्यालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठकाे आनाकानीले अबस्था झन्झन् गम्भीर हुँदै गएकाे छ । कतिपय  शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । पैसा उठाउने नाममा शिक्षण संस्थाहरूका छाता संगठन विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरिरहेका छन् । शैक्षिक माफियाहरूकाे धाकधम्की र प्रलाेभनमा शिक्षा मन्त्री परेकाे भनेर चारैतिर आलाेचना भएकाे छ । शिक्षामन्त्रीकाे अकर्मण्यताका कारण स्वास्थ्य मन्त्रालयसमेत विवादमा तानिएकाे छ । स्वास्थ्य मन्त्रालयले केही दिन अघि नै विद्यालय बन्द गर्न भने पनि शिक्षा मन्त्रालयकाे माैनताले अबस्था गम्भीर बन्दै गएकाे हाे ।

शिक्षा मन्त्रीसँगकाे वेमेल भएर पनि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ । तर  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका विषयमा सरोकार भएका पक्षसँग परामर्श गरी सुझाव तयार गरेको भनेर पन्छ्याइरहेकाे छ ।

 बालबालिका चरित्रका दृष्टिकोणले चञ्चले, उत्सुक, जिज्ञासु, नक्कल गर्ने, जिद्दी तथा अनुसन्धानकर्ता हुने हुँदा र समूहमा बस्दा कोभिड-१९ को जोखिम अत्यधिक हुने भएकाले जोखिम भएका स्थानमा बालबालिकालाई सुरक्षित राख्नु चुनौतीपूर्ण देखिएको छ । बालबालिकामा गम्भीर सङ्क्रमण देखिएपछि काठमाडौं उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् । पछिल्लो एक सातामा मात्रै करिब ३०० बालबालिका सङ्क्रमित भइसकेका छन् ।

गत वर्ष बन्दाबन्दीका अवधिमा पाठ्यवस्तुमा समायोजन गरी अनलाइन, टेलिभिजन, रेडियोजस्ता सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सिकाइ निरन्तरता दिइएको थियो । मुलुकका सबै भागमा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभाव र सबै शिक्षक सूचना प्रविधिमा पोख्त नभएकाले वैकल्पिक माध्यमको सिकाइ प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएको थियो । सरकारले तोकिएको कार्यविधिका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय पुनः सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । शिक्षा विकास तथा मानव संशाधन केन्द्रले विद्यार्थीका लागि स्वअध्ययन सामग्री प्रकाशन गरेको थियो भने कतिपय विद्यालयका शिक्षकले घरघर र टोलटोलमा पुगेर पनि पढाउन पहल गरेका थिए ।

विगत केही समयदेखि बालबालिकामा देखिएको कोभिड-१९ को सङ्क्रमण र सो भाइरसको जोखिमयुक्त अनुवांशिक परिवर्तन बालबालिका र युवा समुदायमा फैलिएको सन्दर्भमा अभिभाभवक र बालअधिकारकर्मी चिन्तित छन् । बालसंरक्षण र बालअधिकारका क्षेत्रमा क्रियाशील नागरिक संस्थाको सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले यसप्रति गम्भीर हुन र वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) लगायत संस्था अझै विद्यालय बन्द गर्नेतिर लागेकाे देखिदैन । प्याब्सन,  एनप्याब्सनलगायत संस्था शैक्षिकसत्रकाे अन्त्यमा विद्यालय बन्द गर्दा पैसा नउठ्ने भन्ने व्यवसायिक ध्याउन्नमा आफ्ना स्टेटमेन्ट प्रस्तुत गरिरहेका छन् ।  अभिभावक तथा विद्यार्थीसँग सम्बन्धित आवाजहरू जाेरदारसँग नउठ्नु,  शैक्षिक माफियाहरू बाेलबाला चल्नु र शिक्षामन्त्री नै शैक्षिक माफियाकाे चङ्गुलमा पर्नुका कारण विद्यार्थीहरूबीच काेराेनाकाे संक्रमण भने भयाबह बन्दैछ ।