• बिसुकुमार के.सी.

( अप्रिल २६ विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस )

मानिसका बौैद्धिक सृजनालाई नै बौद्धिक सम्पत्ति भनिन्छ । खास गरी साहित्यिक र कलात्मक कार्य तथा प्रविधिमूलक नवीन सृजनाहरू नै बौैद्धिक सम्पत्ति हुन् । तर बौद्धिक सम्पति भनेको यही हो र यिनै मात्र हुन भनी ठोस परिभाषा दिन सकिने स्थिति चाहिँ छैन । बौद्धिक सम्पति अधिकार अनुसार यस्तो सम्पत्ति धनीको अनुमति विना अरुले त्यस्तो कुराको प्रयोग गर्न, विक्री गर्नु, भण्डारण गर्न पाउँदैन । बौद्धिक सम्पत्ति अधिकारका कारणबाट यसका सृजनाकार वा आविश्कारले आपनो सृजनाको निर्धक्क भएर भोग चलन, विक्री वितरण तथा प्रकाशन गर्न पाउँदछ । अरुले चोरी, नक्कल वा दुरुपयोग गर्ला र आपनो हक र फाईदा गुम्ला भन्ने डर हुँदैन।

बौद्धिक सम्पत्ति अधिकार व्यवस्थाले सृजनात्मक र अनुसन्धानमूलक कामहरुलाई प्रोत्साहन गर्दछ । नवीन प्रविधिजन्य आविश्कारहरुको पेटेण्ट अधिकार, व्यापार व्यवशायमा प्रयोग हुने नाम र चिन्हको ट्रेडमार्क अधिकार, वस्तुको मौलिक बाहिरीस्वरुप र आकृतिलाई डिजाईन आधिकार तथा मौलिक रचनात्मक अभिव्यक्तिहरुको प्रतिलिपि अधिकार अन्तरगत संरक्षण हुने कानुनी व्यवस्था हो बौद्धिक सम्पत्ति अधिकार व्यवस्था । सृजनात्मक र अनुसन्धानात्मक कामको संरक्षण गरी स्रष्टा र समाज दुबैको हित र उन्नती गर्नु बौद्धिक सम्पत्ति व्यवस्थाको आदर्श पक्ष हो ।

बौद्धिक सम्पत्ति व्यवस्थाले आफ्नो मुलुकको आर्थिक प्राविधिक र सांस्कृतिक विकास मात्र होईन अन्तरष्ट्रिय व्यापारलाई समेत टेवा पुर्याउने हुँदा यसलाई विकासको एउटा खामोको रुपमा लिइन्छ । बौद्धिक सृजना र नयाँ नयांँ आविस्कारहरु नभएका भए आज जुन विकास र प्रगति भएको छ त्यो हुने थिएन भने भविष्यमा थप विकास र उन्नती हुन्छ भनी आशा पनि गर्न सकिने थिएन । तसर्थ कुनै पनि मुलुक र समाजको विकास र उन्नतीमा बौद्धिक सम्पत्ति व्यवस्थाको ठुलो योगदान रहन्छ ।

बौद्धिक सम्पत्ति सम्बन्धि थुप्रै अन्तराष्ट्रिय सन्धि सम्झौताहरु क्रियाशील छन । यी सन्धि सम्झौताहरुले बौद्धिक सम्पति अधिकारहरु र यसको संरक्षणको लागि राज्यहरुले लागु गर्नु पर्ने न्यनतम सर्तहरु र मापदण्ड निर्धारण गरिदिएका छन् ।

यसै गरेर अर्को मुलुकका बौद्धिक सम्पत्तिहरुको पनि आफ्नो मुलुकको नागरिकहरुलाई दिए सरह कै अधिकार दिनु पर्ने प्रावधानहरु यिनमा छन् । वौद्धिक सम्पति सम्बन्धि यी सन्धि सम्झौताहरुको प्रशासन र अन्तराष्ट्रिय जगतमा वौद्धिक सम्पति क्षेत्रको विकास विस्तार गर्न विश्व वौद्धिक सम्पति संगठन (WIPO) क्रियाशिल छ । सन् १९६७ मा सम्पन्न WIPO Convention सन् १९७० मा क्रियाशील भएपछि WIPO अहिलेको स्वरुपमा स्थापना र विस्तार भएको हो । WIPO Convention सम्पन्न भएको दिन अप्रिल २६ लाई विश्व वौद्धिक सम्पत्ति दिवसको रुपमा मनाईने चलन छ । यस दिवसको उद्देश्य पनि अरु दिवसहरु जस्तै वौद्धिक सम्पत्तिको महत्व र औचित्य बारे सरकार तथा सर्वसाधारणलाई सचेत गराउने, यसको विकास, विस्तार र संरक्षण गरेर आर्थिक प्राविधिक र सांस्कृतिक विकासको गति लाई तिव्रता दिनु हो ।

यस वर्षको वौद्धिक सम्पत्ति दिवसको नारा “IP and SMES: Taking your ideas to market.” भनेर राखिएको छ । कुनै पनि मुलुकको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरु ( SMES )को हिस्सा र योगदानको अंश धेरै रहेको पाईन्छ । संसारभर कै तथ्यांक केलाउदा पनि संख्यात्मकरुपमा ९० प्रतिशत भन्दा बढी साना तथा मझौला उद्योगहरु छन भने औद्योगिक उत्पादन र रोजगारी सिर्जनामा ७० प्रतिशत भन्दा बढी हिस्सा यिनै उद्योगहरुको रहेको छ । नेपालको औद्योगिक र आर्थिक क्षेत्रमा त यो भन्दा धेरै नै योगदान साना तथा मझौला उद्योगहरुको रहेको पाईन्छ । यिनै तथ्यहरुको कारण यस बर्षको बौद्धिक सम्पत्ति दिवसको नाराले साना तथा मझौला उद्योगहरुलाई महत्व दिएको हुनु पर्दछ ।

ज्ञान, विज्ञान, साहित्य र कला जगतमा युगान्तकारी परिवर्तन ल्याउने गरी योगदान दिने स्रष्टा सर्जक अविष्कारकहरुलाई सम्झना र सम्मान गरौ भन्ने नै बौद्धिक सम्पत्ति अधिकार दिवसको सन्देश हो । आर्थिक, प्रविधिक साँस्कृतिक लगायत समग्र समाजको विकास र प्रगतीमा बौद्धिक सम्पत्तिका साधनहरुको ठुलो भूमिका रहन्छ । औद्योगिक विकासको त मेरुदण्ड नै नविन प्रविधिको आविश्कार तथा प्रयोग र सिर्जनात्मक कृयाकलाप हो । कुनै पनि मुलुकको औद्योगिक विकास एकै चोटी भएका होइनन् साना र मझौला उद्यम धन्दाहरुको विस्तार र प्रवद्र्धनबाट नै ठुला औद्योगिक संरचनाहरु तयार हुन्छन । तसर्थ देशको औद्योगिक विकासको जग तयार गर्ने हो भने साना उद्योगहरुको प्रबद्र्धन र विकासमा जोड दिनु पर्दछ ।

साना उद्यमहरुको प्रबद्र्धन, विकास र विस्तारको लागि अन्य कुराहरुको अलावा साना उद्योगहरुमा बौद्धिक सम्पत्तिहरुको उपयोग र संरक्षणलाई पनि महत्वपूर्ण साधनको रुपमा लिइनु पर्दछ । बौद्धिक सम्पत्तिका औजारहरुपेटेन्ट, डिजाईन, ट्रेडमार्क, प्रतिलिपि अधिकार आदिको उपयोगबाट साना तथा मझौला उद्यमहरुको आफ्नो व्यवशायमा टिक्न मात्र होइन बजारमा प्रतिस्प्रर्धा गर्न र व्यवशायलाई विस्तार गर्न समेत क्षमता बिकास हुन्छ ।

नेपालमा बौद्धिक सम्पत्ति अधिकार व्यबस्थाको विकासका लागि कानुनी, प्रशासनिक लगायत धेरै कामहरु बाँकी नै छन् । सवभन्दा महत्वपूर्ण कुरा यस वारे नीति निर्मातादेखि स्वयम् अधिकार धनी तथा आम जन साधारणमा ज्ञान, सीप तथा चेतना कै कमी छ । अन्य मुलुकहरुको तुलनामा नेपालमा बौद्धिक सम्पत्तिका साधनहरु पेटेन्ट डिजाइन ट्रेडमार्क आदिको दर्ता संख्या नै लाज मर्दो छ । अहिले सम्म पेटेन्ट दर्ता संख्या एक सय पनि नाघेको छैन भने ट्रेडमार्क दर्ता एकलाख पुग्न अझै केही बर्ष लाग्ने देखिन्छ ।

प्रतिलिपि अधिकार तर्फ स्रष्टाहरुले न त रोयाल्टी पाउन सकेका छन् न त रचनाहरुको अनाधिकृत प्रयोग रोक्न, कारवाही तथा सजाय हुन सकेको छ । नयाँ औद्योगिक सम्पत्ति ऐन मस्यौदा गर्न थालिएको ३० औ बर्ष व्यतित भै सक्यो आजसम्म ऐन बन्न सकेन । छुट्टै स्वायत्त र अधिकार सम्पन्न बौद्धिक सम्पत्ति कार्यालय स्थापना गर्ने भनि प्रतिबद्धता गरिएको घोषणा गफै मात्र भएको छ । जेन तेन बौद्धिक सम्पत्ति सम्बन्धि नीति जारी भएको थियो तर कहिले पनि त्यसलाई पल्टाएर हेर्न नीति निर्माताहरु निर्णयकर्ताहरुलाई फुर्सद भएको छैन । सरकारी क्षेत्रमा हुनै पर्ने र गर्नै पर्ने यि कामहरु त भएका छैनन् भने बौद्धिक सम्पत्ति अधिकार बारे चेतना र जानकारी दिने, ज्ञान र सिप प्रबाह गर्ने, अध्यन अनुसन्धान गर्ने, कानुन कार्यान्वयन गर्ने निकाय र जनशक्तिहरुको क्षमता विकास गर्ने, प्रवर्धन र प्रोत्साहनका कार्यक्रमहरु लागु गर्ने, शैक्षिक वैज्ञानिक प्राज्ञिक औद्योगिक क्षेत्रसंग सहकार्य गर्ने आदि इत्यादि सकारात्मक काम कहिले होला र नेपालको बौद्धिक सम्पत्ति व्यबस्थाले स्वरुप लेला भन्ने अपेक्षा गर्ने ?

आज परेको बौद्धिक सम्पत्ति दिवस मनाएर यसबारे चासो जगाउन सके पनि धेरै उपलब्धि हुने थियो । यसै अवसरमा सबल बौद्धिक सम्पति अधिकार व्यबस्थाको निर्माणका लागि चाहिने कानुनी, प्रशासनिक र आर्थिक संरचना खडा गर्न राज्यका तर्फ वाट अग्रसरता र आम जनसमुदायमा सृजनात्मक काम गर्ने एवम सृजनात्मक कामहरुलाई सम्मान गर्ने प्रतिबद्धता पनि आउन सके दिवसको सार्थकता रहने थियो ।

(लेखक  बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन्)