-दिनेश अधिकारी

सर्जक राजेन्द्र थापाका सिर्जनाका बिधा र परिचयका पनि थुप्रै पाटाहरु छन् । मेरो सजिलोको लागि, म उहाँलाई गीतकार राजेन्द्र थापा र अझै सजिलोको लागि राजेन्द्र दाइ नै भनिरहेको छु ।
सम्झन्छु – २०३८ सालको कुरा हो। म बिहान नेपाल ल क्याम्पस, काठमाडौंमा स्नातक तहमा पढ्दै दिउँसो नायब सुब्बा ( ना.सु.) को पदमा कार्यरत थिएँ र मेरो दरबन्दी तत्कालीन शाही नेपाली सैनक विमानसेवा, त्रिभुवन विमानस्थलमा थियो । पढाइ र काम गर्ने ठाउँ टाढा भएकोले सधैं जस्तो १/२ वटा क्लास छोड्नु पर्थ्यो । यो अप्ठ्यारो फुकाउन मैले तत्कालीन प्रधान सेनापति ( सिंहप्रताप शाह) समक्ष नजिकै सरुवाका लागि निवेदन पठाएको थिएँ । त्यसपछि मेरो सरुवा तत्कालीन शाही नेपाली जङ्गी अड्डाको राष्ट्रिय सेवा दलमा भयो ।
म आफ्नो कार्यकक्षमै रहेको अवस्था २०३८ साल मंसिरको कुनै एक दिन राजेन्द्र दाइ मेरो कोठामा पस्नु भयो र हाम्रो प्रत्यक्ष चिनापर्ची भयो। गीतकार र कविका रुपमा नाम सुनेको राजेन्द्र दाइ त्यसबेला जल्दोबल्दो सेनानी ( मेजर) हुनुहुँदोरहेछ। जल्दोबल्दो यस अर्थमा कि उहाँ त्यसबेला प्रधान सेनापतिको पार्स्ववर्ती ( एडिसी)हुनुहुन्थ्यो । यही कारणले मेरो सरुवाको बारेमा जानकार हुनुहँदोरहेछ र मलाई खोज्दै आउनु भएको रहेछ !
नढाँटी भन्नु पर्दा मैले राजेन्द्र दाइलाई पहिलोपटक अम्बर गुरुङको संगीत र अरुणा लामाको स्वरमा रहेको ” पोहोर साल खुसी फाट्दा ” बोलको गीतबाट हेक्का गर्न थालेको हुँ । त्यसपछि थाहा हुँदै गयो त्यसअघि नै रेकर्ड भएका ” पर लैजाउ फुलहरु…”, ” जस्तो तिम्लाई रहर मलाई उस्तै रहर…”, ” फूलको बयानमा काँढाको पनि नाम आउँछ…” जस्ता गीतहरु पछिपछि रेकर्ड भएका अरु थुप्रै मलाई मनपर्ने गीतहरु राजेन्द्र दाइले लेख्नु भएको रहेछ ! अहिलेको उहाँको सक्रियता त हामी सब‌का लागि लोभलाग्दो रहिआएको छ ! स्तरीयता र लोकप्रियताका दृष्टिले राजेन्द्र दाइ नेपाली गीतको शिखर पुरुष मध्ये एक हुनुहुन्छ ।
प्रकाशनमा अहिले दाइको रुचि बढेको छ। तर “यसपाली त मनै फाट्यो” (२०५३) शीर्षकको गीत सङ्ग्रह प्रकाशन गर्न भने म‌ैले पनि निक्कै घचघच्याउनु परेको सम्झना अहिले पनि मलाई छ ! म राष्ट्रिय सेवा दलबाट सरे पनि दाइसंगको सम्बन्धमा भने कुनै परिवर्तन आएन । पछि २०५१ सालतिर म रुपन्देही जिल्लाको सरकारी वकिल रहेको र राजेन्द्र दाइ बुटवलमा कार्यरत रहँदा पनि जागीरे हैशियतमा हाम्रो भेट भएको थियो ।
राजेन्द्र दाइसंग २०३८ सालदेखिको चिनाजानी भएको भए पनि हामी दाइभाइको फोटो भने पहिलोचोटि साउन, २०४८ सालमा उहाँ बत्तीसपुतली, काठमाडौं स्थित मेरो घरमा आउनुहुँदा खिचेका रहेछौं । दाइसंग खिचेको यो पहिलो फोटो त्यही भेटको निसानी हो !(गीतकार दिनेश अधिकारीकाे सामाजिक सन्जालबाट)