बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैंयुटार घर भएकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भयाे । बिहेकाे भाेलिपल्ट नै उनलाइ काेराेना पाेजेटिभ देखियाे । काेराेना देखिएकाे ७ दिनमा उनकाे मृत्यू भएकाे छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको ती युवतीकाे बिहेकाे दिन निषेधाज्ञा लागु भएकाे थिएन । तथापि केहि सिमित आफन्तका बीच विवाह सम्पन्न गरिएकाे थियाे । धेरैले युवतीलाइ विवाह पूर्व नै काेराेना भैसकेकाे बताए पनि युवतीमा विवाहकाे दिन कुनै लक्षण देखिएकाे थिएन ।

विवाहकाे भाेलिपल्ट भक्तपुर अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्रमश: समस्या थपिन थाल्यो। श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई १३ गते आइसियूमा राखियो । आइसियूमा राखेपछि पनि उनी निको भइनन्।  सोमबार दिउँसो मृत्यु भयो।

उपचारमा संलग्न डाक्टरका अनुसार ती युवतीलाई अस्पताल आउँदै सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई ज्वरो, रुघाखोकी पनि थियो । परीक्षण रिपोर्ट पोजेटिभ त छँदैथियो, त्यसमाथि उनलाई निमोनिया भइसकेको थियो। भर्ना भएकै दिन आइसियू खाली थिएन। उनलाई प्रतिमिनेट पन्ध्र लिटर अक्सिजन दिएर राखियो। उनको स्वास्थ्य जटिल हुँदै गयो। त्यसपछि भेन्टिलेटर मेसिनको सहायताले मास्कद्वारा श्वासप्रश्वास गराइयो। त्यो प्रयास पनि काम लागेन।

युवतीसँग विवाह गरेका युवक इन्टेरियर डिजाइनर हुन्। बिहे भएको एक दिनमात्र उनीहरू सँगै रहे । दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन् । बेहुलाका परिवारले दुलही भित्र्याउने रीतिथिति पूरा त गर्‍यो तर उनी त्यो घरमा दोस्रो दिन पनि बिताउन पाइनन्।

उनी परिवारकी एक्ली छोरी थिइन्। पैयुँटारमा उनीहरूको बसोबास पहिलेदेखिको हो। उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ।