कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुन सक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरूले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।

कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु भए पनि कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित मितिमै परीक्षा हुने हो भने यी विद्यार्थीले न्याय हुने देखिँदैन । गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिनअगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन ।

विज्ञहू महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताउँछन्  । महामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न परीक्षा सञ्चालन गर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन भन्ने तर्कहरुकाे छ ।  “सामान्य स्थितिमा साबिककै विधि अपनाऔँला तर महामारीमा गत वर्षकै जस्तो विधि अपनाउन सकिन्छ । चार/पाँच महिना त कक्षाकोठामा अध्यापन गरेकाले शिक्षकले विद्यार्थीको ल्याकत बुझेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्न सकिन्छ तर शिक्षक इमानदार हुनुपर्छ ।”

यद्यपि केही पक्षले भने परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गरेका छन् । उनीहरूकाे तर्क छ,  “छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध स्रोत साधनका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्ने छ ।”