काठमाडाैँ उपत्यकामा अरू दुइ हप्ता लामाे निषेधाज्ञा गरिने तयारी भएकाे छ ।  कोरोनाभाइरसको संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा ३० वैशाखमा सकिँदै छ।

कोरोना संक्रमण नरोकिएपछि फेरि निषेधाज्ञा थप्न लागिएको हो। यसका लागि आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । कोरोना संक्रमण नघटेकाले उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएकाे हाे ।  कति दिन थप्ने भन्ने  एकनि निर्णय नभए पनि एकैपटक दूइ साता लामाे निषेधाज्ञा जारी हुने सम्भावना भएकाे बताइएकाे छ ।

यसअघि सोमबार नै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो। त्यही सिफारिशलाई आधार बनाएर आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने भएको हो।

सोमबार काठमाडौं उपत्यकामा तीन हजार ६ सय सात जनामा संक्रमण पुष्टि भएको थियो। यसमध्ये काठमाडौंमा दुई हजार सात सय ७५, भक्तपुरमा तीन सय २७ र ललितपुरमा पाँच सय पाँच जनामा कोरोना देखिएको थियो। काठमाडौंसँगै देशका अन्य जिल्लामा संक्रमण घटेको छैन। सोमबार देशभर नौ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण नियन्त्रणका लागि अहिले देशभरका ६९ जिल्लामा निषेधाज्ञा लागू छ। कोरोना संक्रमणको जोखिम कम रहेका आठ जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छैन।