३० गतेभित्र दुइ वा दुइभन्दा बढि मिलेर बनाउनु पर्ने गठबन्धन सरकार गठनका लागि राजनीतिक दल छलफलमा जुटेका छन्। सोमबार प्रधानमन्त्री केपी ओलीले संसद्‍मा विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। तीन दिनभित्र सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएपछि नेताहरु छलफलमा जुटेका हुन्। राष्ट्रपति भण्डारीबाट बिहीबारसम्ममा सरकार गठनका लागि आह्वान भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्रले विपक्षी गठबन्धनबाट सरकार गठनको पहल थालेका हुन्। सोमबार नै राष्ट्रपतिलाई सरकार गठनको आह्वान गर्न अनुरोध गरेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको सरकार गठनका लागि पहल थालेका हुन्।

मंगलबार दिउँसो बूढानीलकण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। गठबन्धनका लागि देउवासँग छलफल गर्न  प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन्। देउवा र प्रचण्डबीच करिब एक घण्टा कुराकानी भएको छ। छलफलमा जसपा नेतासमेत सहभागी हुने बताइएको भए पनि आन्तरिक विवादका कारण जसपा नेता बूढानीलकण्ठ गएनन्।