– बिजेन्द्र श्रेष्ठ


देश अहिले कोरोनाको दोस्रो लहरको चपेटामा थलिएको छ। दिनदिनै संक्रमितहरुको संख्या बढ्दो छ। संक्रमितहरुले कोहि अस्पताल, कोहि शैय्या त कोहि अक्सिजन नपाएर अकालमा ज्यान गुमाईरहेका छन्। चिनको वुहान प्रान्तबाट फैलिएको यस भाईरसले विश्वलाई आक्रान्त बनाउदै गर्दा दोस्रो लहरले भारत पछि नेपाललाई बढि असर गरिरहेको छ। यस्तो विषम परिस्थितिमा अधिकांश अस्पतालहरुले अक्सिजनको हाहाकार भैरहेको अवस्थामा कुनै पनि बेलामा दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्य नजर गर्दै नँया बिरामी भर्ना गर्न नसकिने भनि विज्ञप्ति निकालेका छन्। अझ कुनै कुनै अस्पतालले त झन् अक्सिजन नपाएर मृत्यु भएमा अस्पताल जवाफदेही हुने छैन भनि कागज गराएर उपचार गरिरहेकका छन् ।
यस्तो संवेदनशील अवस्थामा सर्वसाधारण नागरिकहरुले सरकार र राज्य खोज्दै गर्दा हाम्रो सरकार सत्ता जोगाउन, अध्यादेश जारी गरि संवैधानिक परिषद् मार्फत आफ्नो मान्छेहरुलाई नियुक्त्ती गराउने, कमिसन र कालाबजारीमा व्यस्त भैरह्यो| केही थाहा नहुनु र मलाई केही थाहा छैन भनि थाहा नभएर कोरोना जस्तो महामारीलाई हल्काफुल्का ठानेर अदुवा बेसार पानी खाएमा ठिक हुन्छ भनि त कहिले अम्बाको पातको पानीले गार्गल गर्यो भने ठिक हुन्छ भन्दै स्वास्थ्य जस्तो संवेदनशील विषयमा मज्जाक गरिरहे।     उहाँका सारथिहरु कोही स्वास्थ्य भन्दा अर्थतन्त्र ठूलो, कोही रुखले मान्छेलाई कार्वनडाईअक्साईड दिन्छ, कोही केपि ओलि ईज केपि ओलि भन्दै काम भन्दा जनतालाई हँसाउने तिर व्यस्त भैरहे। जनताहरु एम्बुलेन्स नपाएर टाक्ट्ररमा सवार गर्दैगर्दा कोहि हेलिकप्टर चढेर ससुराली जान व्यस्त हुँदा कोही हेलिकप्टर चढेर मनोनयन दर्ता गर्न व्यस्त भैरहे ।
केपि शर्मा ओलीलाई सर्वेसर्वा मै हुं पार्टी भन्दा आफू ठूलो भन्ने घमण्ड थियो । पार्टीको जितलाई उहाँले नितान्त आफ्नो व्यक्तिगत जित ठानेका थिए। बहुमतका साथ प्रधानमन्त्री हुनुभएका उहाँको घमण्ड तोडियो जब २०७८ साल बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत गुमाउनुपर्यो| कुल २३२ जनाले मतदान गरेकोमा ९३ जनाले मात्र विश्वासको मत पक्षमा मतदान गरेका थिए १२४ जनाले विपक्षमा र १५ जना तटस्थ बसेका थिए। प्रधानमन्त्री केपि शर्मा ओलिले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई दावी पेश गर्न ७२ घण्टाको समय दिएको थियो ।
राजनीति र सत्ताका लागि माहिर खेलाडी केपि शर्मा ओलीले नेताहरुले सरकार फेर्ने र जनताहरुले सास फेर्ने बीचको लडाईमा सत्ता जोगाउने खेल जितेका छन्। आफ्नै पार्टीमा अन्तर संघर्ष गरिरहेका माधव- झलनाथ समुहले प्रतिगमन आधा सच्चियो भन्दै आफू शक्तिशाली हुँदा आफ्नै सहयोद्वाको घाँटी निमोठ्न सक्नेको चक्रब्यु मा फसेपछी २०७८ बैशाख ३० गते केपि शर्मा ओली तेस्रो पल्ट तथा मुलुकको ४३औं प्रधानमन्त्री बनेका छन्। तपाईहरूकै घर झगडाले जनताले दिएको अभिमतको बेवास्ता गरी बर्षौं लगाएर कुर्सी मात्र बचाउनु भएन, नेपाली जनतालाई पानि जहाज, रेल, घरघरमा ग्याँसको पाईपको झुटो आश्वासन चाहिएन बस अक्सिजन नपाएर जीवनको अन्तिम श्वास फेरिरहेकालाई अक्सिजन मिलाई देऊ सरकार। यो भन्दा अघिको कार्यकाल सम्झन लायक नभए पनि यो कार्यकाल यादगार बनाउन पुरै समय कोरोना नियन्त्रणमा ध्यान दिनुहोला। कुनै गुटको हैन, कुनै पार्टीको हैन सबै जनताको प्रधानमन्त्री बन्नुहोला भन्दै पुन प्रधानमन्त्री बन्नु भएको कमरेड केपि शर्मा ओलीलाई हार्दिक एवम् सफल कार्यकालको शुभकामना।