• कथा / बिभाेर बराल

मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा ।
“दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।” ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।
“प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?” निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।
“त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज?” मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।
“तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।”
यो पल्ट मैले मुख खोलेँ – “हुन्छ ।”

उसले भन्दै गई । मैले लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।
म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी ।

त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको ।

भर्खरै जस्तो लाग्छ ‍हरि र निरुको बिहेको भोज खाएको । जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति लामो समय बितिसकेछ । कस्तो होशै भएन ।

“के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ विचारहरू । कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा हिँड भनेर ।” रिसाउँदा हरिले आँखीभौँ माथि उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका गालाहरूको मुजा सोहोरिएर उसको निधारमा आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले पिरिरहेको छ ।
“होइन, मैले प्रेमपत्र लेखेकै छैन”
“ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भनी के भन्ली ?”
“होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र लेख्नै बिर्सेँछु ।”
“अनि भाउजुलाई कसरी फसायौ त ?”
“फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको प्रमाण केही छैन हरि ।”
“तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।”
“हैन हरि मैले साँच्चै बिर्सेँछु ।”
अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने थाहाभयो ।
“राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन यस्तै हो । आए पछि सबैले…”
“भो भो हरि यो भन्दा बढी हैन । मैले जीवनमृत्युको कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे । मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ । जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि, एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी …”

“हजुरबुवा कविता लेखिदिनु भयो ।”
“मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त”
“अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ”
मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।
“हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !” उसले आँखा चिम्किएकी थिई । उसको कपाल निधारबाट तल झरेर आँखासम्म आइपुगेको थियो ।
“हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !”
“कस्तो चिठी नानु ?”
ऊ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।
“प्रेमपत्र हो ?”
उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको हल्लाएर हो भन्ने इसारा गर्छे ।
म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।
“आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ?”
“रोहित”

प्रीय रोहित
मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् । तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै …

“भजनमण्डलीको कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने भन है !” मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि ढलेछ । म खित्का छोडेर हाँस्न पुग्छु । (शब्दाञ्लीबाट)