रामप्रसाद ज्ञवाली नेपाली साहित्यअन्तर्गत काव्य विधामा चिरपरिचित नाम हाे । पद्य साहित्यका धुरन्धर कविका रुपमा ज्ञवालीकाे विशाल परिचय एवम् छवि रहेकाे छ । सामाजिक विषयवस्तुमा उनका कलमहरू पारङ्गत मानिन्छ । राजनीतिक भिन्नभिन्न विषय तथा आयाम पनि ज्ञवालीकाे लेखनगर्भ हाे । पछिल्ला केही वर्षदेखि नेपालमा कम्युनिस्ट नामबाट भैरहेकाे राजनीति तथा सत्ता लुछाचुँडिप्रति ज्ञवालीकाे कलम कठाेररूपमा चलिरहेकाे छ । प्रस्तुत कविता पनि यहि सेराेफेराेकाे हाे । यस कवितामा देशमा हालै विकसित राजनीतिक परिस्थितिलाइ विश्लेषण गरेर यस परिस्थितिका सर्जकहरूलाइ आत्महत्या गरे भयाे भनेर सम्बाेधन गरिएकाे छ । ज्ञवालीकै सामाजिक सन्जालबाट साभार गरिएकाे याे कविता ।

आत्महत्या गरे भयो !

  • रामप्रसाद ज्ञवाली

क्रान्ति गर्दछु भन्छस् तँ आगो जोर्न डराउँछस् !
बाटो खन्दछु भन्छस् तँ ढिस्को फोर्न डराउँछस् !
आँट गर्न नसक्नेले दम्भ नै नगरे भयो !
किन पो बाँच्नु लाछीले आत्महत्या गरे भयो !
फाँड्छु जङ्गल भन्छस् तँ काँडा देख्दा डराउँछस् !
चढ्छु हिमाल भन्छस् तँ डाँडा देख्दा डराउँछस् !
दुःख खप्न नसक्नेले ध्वाँस नै नछरे भयो !
के बाँच्ने हुतिहाराले आत्महत्या गरे भयो !
खेती गर्दछु भन्छस् तँ खेत खन्न डराउँछस् !
चेतना छर्छु भन्छस् तँ सत्य भन्न डराउँछस् !
श्रम गर्न नसक्नेले खेती नै नगरे भयो !
किन पो बाँच्नु ढोँगीले आत्महत्या गरे भयो !
युद्ध गर्दछु भन्छस् तँ योद्धा बन्न डराउँछस् !
शान्ति छर्दछु भन्छस् तँ बुद्ध बन्न डराउँछस् !
सिन्को भाँच्न नसक्नेले कुरा नै नगरे भयो !
के बाँच्ने डरछेरूले आत्महत्या गरे भयो !
घुम्छु संसार भन्छस् तँ आफैभित्र हराउँछस् !
विश्वात्मा बन्छु भन्छस् तँ सत्ता ! सत्ता ! कराउँछस् !
सत्तामा विश्व देख्नेले गन्दगी हसुरे भयो !
के बाँच्ने लुब्ध भोगीले आत्महत्या गरे भयो !