नेपाली साहित्यमा विशिष्ट उपस्थित राखेकी लेखिका डा. बानिरा गिरीको आइतबार राति १० बजे निधन भएको छ। २० दिनअघि उनलाई कोभिड–१९ देखिएको थियो भने निधन चाहिँ हृदयाघातका कारणले भएको परिवारले बताएको छ। हृदयाघात लगत्तै आइतबार राति नै नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकोमा एकैछिनमा चिकित्सकहरुले मृत घोषित गरेका थिए।

डा गिरी विद्यावारिधि गर्ने पहिलो महिलाका रुपमा चिनिन्थिन् । गिरीले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेवापत त्रिभूवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्तगरेकी थिइन् । विद्यावारिधि गर्दाको क्रममा उनले लेखेको उपन्यासले भने आजसम्मै उनका कृतिमध्ये सबैभन्दा उत्कृष्ठ सिर्जना दिएको ठम्याइ धेरै लेखकहरुको छ। त्यो उपन्यास थियो ‘कारागार’।

२०२२ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन उनी खर्सियाङबाट काठमाडौँ आएकी थिइन्। त्यतिबेला दोश्रो स्थान प्राप्त गरेको उनको कविताका लागि तत्कालीन राजा महेन्द्रले नै पुरस्कृत गरेका थिए।

भारतमा नेपाली विषयमा एमए पढ्न नमिल्ने भएकाले आफूलाई नेपाल आएर पढ्ने इच्छा व्यक्त गरेपछि राजाले तत्कालै गिरीलाई छात्रवृत्तिको बन्दोबस्त मिलाइदिएका थिए। त्यसपछि उनले त्रिभूवन विश्वविद्यालयबाट एम ए गरिन्। अध्ययनकै क्रममा उनको इन्जिनियर शंकर गिरीसँग बिहे भएको थियो।

महाकवि देवकोटापछि अफ्रो एशियाली कवि सम्मेलनमा भाग लिने दोश्रो नेपाली उनले कविका रुपमा अरु पनि थुप्रै मुलुकहरुको यात्रा गरेकी थिइन् भने कतिपय राष्ट्र प्रमुखहरुसँग पनि कविकै रुपमा भेटघाट गरेकी थिइन्। उनले त्रिभूवन विश्वविद्यालयमा अध्यापनको काम जीवनभर गरिन्।