• सम्पादकीय

सरकारले ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम बजेटमार्फत ल्याएपछि ठूलाे विवाद तथा आलाेचना भैरहेकाे छ । नेपालकेा ढुङ्गा, गिट्टी, बालुवा निर्यातकाे कुरा चुरे क्षेत्रकाे विनाशबाट सम्भव हुने भएकाले सिंगाे देश यतिखेर ओली सरकारकाे यस कदमकाे विराेधमा छ भने ओली सरकारका मान्छेहरू बचाउमा लागेका छन् ।

देशलाइ बुझ्ने, प्रकृतिलाइ बुझ्ने तथा वातावरणलाइ बुझ्नेहरूले चुरेकाे महत्वलाइ राम्ररी बुझे पनि सर्वसामान्यले चुरे किन नेपालकाे लाइफलाइन हाे भन्ने कुरा बुझि हालेकेा देखिदैन ।  यो नागबेली पहाड जैविक विविधताका दृष्टिले दृष्टिले समृद्ध छ यसकाे भू–बनावटका  हिसाबले अत्यन्त कमजोर छ। नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाहरूमा फैलिएको चुरेले कुल भू–भागको १२.७८ प्रतिशत भू–भाग ओगटेको छ ।

खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट वग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अन्यन्त संवेदनशील रहेको छ । चुरे क्षेत्रमा मूलतः पाँच भू–प्रदेशहरू (भू–खण्ड) छन् । ती हुन्, चुरे पर्वत, भित्रि मधेश, साँगुरा खाँचा, भावर र तराई मधेश । यी पाँच भू्ू–प्रदेशहरू मध्ये सबै भन्दा बढी ४० प्रतिशत भू–भाग तराई मधेसले ओगटेको छ भने चुरे पर्वतले ३४.४ प्रतिशत, भावरले १४.९ प्रतिशत, भित्रि मधेशले ८.४ प्रतिशत र खोँचले २.२ प्रतिशत ओगटेको छ ।

चुरे क्षेत्र जैविक, वातावरणीय र आर्थिक हिसाबले अति नै महत्त्वपूर्ण छ। चुरेले तराईको कृषियोग्य भूमि संरक्षण र उत्पादन वृद्धिमा योगदान गरेको छ। बाढीका बेला पानीको सतह नियन्त्रणमा यसको भूमिका अतुलनीय छ। चुरे अमूल्य वन स्रोत (काठदाउरा, पशुआहार) को पनि आधार हो। यस क्षेत्रमा पाइने जडीबुटीहरू अथाह छन्। असंख्य वन्यजन्तु र चराचुरुंगीको बासस्थान त हुँदै हो। यस क्षेत्रमा उल्लेख्य रूपमा मानव बसोबास पनि छ। धेरैजसो बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट पीडित भई विभिन्न जिल्लाबाट आएकाहरूको बाढी बसोबास छ । गरिबीले धकेलिएकाहरूको पनि अन्तिम आश्रयस्थल चुरै नै बन्दै आएको छ।

चुरे पहाड अन्तर्गतको भावर क्षेत्रबाट पानीको पुनर्भरण भई तराईको उर्वराभूमीका लागि सिँचाइ तथा खानेपानीको स्रोत चुरे क्षेत्र रहेको छ जहाँ देशकै झन्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका छन् ।  नेपालको ८० प्रतिशतभन्दा बढी खाद्यान्नको भण्डारलाई उक्त पानीले सिँचाइ सेवा उपलब्ध गराएको छ । चुरे क्षेत्रमा करिब १,५७० प्रजातिका बिरुवाहरू पाइने र ७२ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको हुँदा जैविक विविधताको दृष्टिले धनी भौगोलिक क्षेत्रको रूपमा परिचित छ ।

बाघ, हात्ती, गैँडा जस्ता दुर्लभ वन्यजन्तुहरूको आवागमनको लागि चुरे क्षेत्रले जैविक मार्ग र वन्यजन्तुलाई सिमापार गर्ने कार्यमा समेत सहयोग गरिरहेको छ । चुरे क्षेत्रमा करिब ९५ लाख वर्ष पुराना प्राग ऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गरिएको छ ।

यति महत्वपूर्ण चुरे क्षेत्र सदैव समस्याबाट पीडित छ । पहिलाे र गम्भीर समस्या भनेकाे कमलो भौगर्भिक वनावट र जलवायु परिवर्तका कारण चुरे संरक्षणमा समस्या सृजना भैरहेका हुन्छन् ।  त्यसैगरी मानव सृजित समस्या अन्तर्गत अव्यवस्थित बसोबास, वन पैदावारको अव्यवस्थित दोहन, अनुपयुक्त खेती प्रणाली, खुला चरिचरण, नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन, वन डढेलो, मिचाहा प्रजातिको अतिक्रमण, दिगो विकासका  सिद्धान्त विपरीत भौतिक पूर्वाधार निर्माण आदि कारणले चुरे क्षेत्रको भौगोलिक, सामाजिक–आर्थिक अवस्थामा मात्रै  चुनौती सृजना गरेको नभै यसको प्रभाव समग्र तराई–मधेस मरुभूमिकरण, डुबान र कटानमा समेत पर्ने गरेको छ ।

यति महत्वपूर्ण क्षेत्र भएकाले यसलाइ नेपालकाे जैविक एवम् वातावरणीय हिसाबले लाइफलाइन भनिएकाे हाे । यसलाइ संरक्षण गर्ने बिभिन्न समयमा प्रयास भएका छन् तर संरक्षणभन्दा नाेक्सान गर्ने तत्व सदैव अगाडि देखिन्छ । कतिपय ठाउँमा चुरे दाेहनमा सरकारी पक्षनै मिलेमताेमा लागेकाे पाइन्छ । पछिल्लाे समय राज्यले नेपालकाे गिट्टी, बालुवा निर्यात गर्ने भनेर नीतिगतरूपमै चुरेदाेहन पारित गरेकाे छ । सरकारकाे याे कार्यक्रमलाइ जति निन्दा गरे पनि पुग्दैन । यसकालागि सबै तहतप्काले चुरेबारे बुझ्न जरूरी छ ।