यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार  मनसुन केरला आइपुगेको जानकारी दिएको छ । अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ।

अब मनसुन त्यहाँबाट बंगालको खाडी हुँदै नेपाल आउने छ। मौसमविद्हरूका अनुसार केरला पुगेको मनसुनलाई नेपाल आइपुग्न सरदर १० दिन लाग्छ। कहिलेकाहीँ केही परिस्थिति बदलिए मनसुन ढिलो वा चाँडो हुन सक्छ। नेपालमा मनसुन आउने औसत समय जुन १० हो। नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनी वायुको प्रभावले वर्षा गराउँछ।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको  नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।महाशाखाकाे अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ। महाशाखाका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ।