• आकाश शर्मा

बुढानिलकण्ठ नगरपालिका निवासी राेशन ठकुरीले आफ्नाे सामाजिक सन्जालमा जेठ २७ गते एक पाेस्ट गऱेका छन्, देखादेख यस्ताे लापरबाही हुँदा नि नगरपालिकाकाे समाचारचाहिँ बचाउ गर्न अग्रसर ? कहिले बन्छ हाम्राे नगर ? राेशनले गरेकाे यस पाेस्टमा काठमाडाैँ खबरमा नगरपालिकाकाे एक लापरबाहीपूर्णकाे कामका बारेमा लेखिएकाे समाचार र त्यसलाइ बचाउ गर्न नगरपालिकाकाे मुखपत्र बुढानिलकण्ठ न्यूजले लेखेकाे समाचारकाे स्क्रिनसटलाइ समाबेश गरिएकाे छ ।

पछिल्ला केहि महिनादेखि बुढानिलकण्ठ नगरपालिकाले आफ्नै एक न्युज पाेर्टल बनाएर काम गरिरहेकाे छ । यस पाेर्टलकाे काम अरू मिडियाले आफ्नाे समाचारमा नगरप्रमुखले विकास निर्माण गरेनन् वा यसाे भएन भनेर लेख्याे भने त्यसकाे खण्डन गर्ने तथा साना साना कामका ठूला समाचार बनाएर नगरपालिकाले के के न गरेकाे भनेर देखाउने गरेकाे छ । मेयर खरेल बेलबखत पटकपटक आफैले चलाएकाे पाेर्टलमा अन्तर्वार्ता दिइरहेका हुन्छन् । नगरपालिकाका गतिबिधिकाे देवत्वकरण गर्न शुरू गरिएकाे यस पाेर्टलकाे आवश्यक्ता किन पर्याे ? आफ्नै संचारमाध्यम संघीय सरकारकाे भए पनि प्रदेश र स्थानीय सरकारले आफैले लगानी गरेर  समाचारमाध्यम चलाएकाे सम्भवतः याे पहिलाेपटक हाे ।

बुढानिलकण्ठ तथा यसकाे सेराेफेराेमा स्थानीय समाचार समेट्ने आधा दर्जनजति न्यूज पाेर्टल छन् । तिनले नगरपालिका तथा मेयरकाे गुणगान नगरेकाे भन्ने आराेप लागिरहन्थ्याे । साेही क्रममा एकाएक नगरपालिकाले कार्यालयभित्रैबाट पाेर्टल सुरू गर्याे । नगरपालिकाका मेयरकाे सचिवालयमै डेस्क राखेर चलिरहेकाे यस पाेर्टलकाे आयव्ययका बारेमा पनि प्रश्न उठेका छन् ।

४ वर्षकाे कार्यकालमा कुनै पनि उल्लेखनीय काम नगरेकाे आराेप लागेकाे मेयर खरेल तथा कार्यपालिकालाइ बचाउन सुरू गरिएकाे पाेर्टलका बारे धेरैले चासाे व्यक्त गरेका छन् । राेशन ठकुरीकाे साे पाेस्टमा कमेन्ट गर्ने बुढानिलकण्ठ नेपाली काँग्रेसका युवा नेता बिजेन्द्र पुडासैनी ब्यङ्ग गर्दै लेख्छन्,  हैट, समृद्धि हाम्रै पालामा ! 

बुढानिलकण्ठ न्युज नामकाे यस पाेर्टल कतै दर्ता भएकाे देखिदैन । पाेर्टलमाे सुचना विभाग वा प्रेस काउन्सिलकाे दर्ता नम्बरमात्र हैन सम्पादन वा अन्य कुनै टिमसमेत उल्लेख गरिएकाे छैन तर बुढानिलकण्ठकाे आधिकारिक समाचार पाेर्टल हाे भनेर लेखिएकाे छ ।