बुढानिलकण्ठ नगरपालिकामा ४ वर्ष मेयर भएर बसिरहेका उद्धव खरेल केही काम गर्न नसक्ने मेयरकाे काेटीमा पर्छन् । उनलाइ यस नगरपालिकामा केही काम गर्न नसकेकाे भनेर आलाेचना गर्नेहरूकाे संख्या अनगिन्ति छ । तर के के काम गर्ने वा के के काम पर्ला भनेर सुझाव दिनेहरूकाे संख्या भने सार्है नै न्यूनमात्रमा पाइन्छ । त्यसाे त यस खरेल अरूकाे सुझाव सुन्ने प्रवृत्तिका मानिदैन । अरूकाे नसुन्ने आफूले केही नगर्ने आराेप खरेललाइ लाग्ने गरेकाे छ ।

यसै क्रममा नगरपालिकाकाे ०७८/७९ काे नीति, कार्यक्रम र बजेटअघि युवा नेता अब्दुस मियाँले ४ बुँदे सुझाव पेश गरेका छन् । सामाजिक सन्जाल तथा भेटघाटबाट पनि खरेललाइ सुझाव, सुझाव साथै कहिलेकाँहि आलाेचना गर्दै आएका मियाँ बुढानिलकण्ठ १ का स्थायी बासिन्दा हुन् । आफ्नाे नगरपालिकाकाे काम कारबाहीबारे उनी सदैव सचेत रहने गरेका छन् ।

मेयर खरेललाइ सम्बाेधन गरेर लेखिएकाे मियाँकाे सुझावमा उनले बुढानिलकण्ठ युथ सेन्टर निर्माण, खानेपानीकाे सार्वजनिक धाराहरू निर्माण, शिवपुरी राष्ट्रिय निकुन्जको फेदमा बसेर पानी किनेर खानुपर्ने बाध्यता हटाउन, सुबिधासम्पन्न बुढानिलकण्ठ हेल्थ क्लब र अल्पसंख्यक मुस्लिमहरुको प्रार्थनाका लागि धार्मिक स्थल बनाउन सुझाव दिएका छन् ।

मियाँले दिएकाे सुझावपश्चात मेयर खरेलले “तपाँईको सुझावको लागी हार्दिक धन्यवाद। हामी तपाँईको सुझावलाई प्राथमिकतामा राखी नीति, कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्ने अधिकतम प्रयास गर्नेछौ।” भनेर रिप्लाइ गरेका थिए ।

विवेकशील साझा पार्टीका युवा विभागका प्रमुखसमेत रहेका अब्दुस मियाँले नगरप्रमुख खरेललाइ दिएकाे सुझावकाे पूर्ण पाठ यस प्रकार छ । 

उद्धव खरेल ज्यू, नगर प्रमूख, बूढानीलकण्ठ नगरपालिका बूढानीलकण्ठ नगरपालिका देशका उत्कृष्ठ नगरपालिकाहरुमध्य एक बनोस् भन्ने चाहनाद्वारा अभिप्रेतिर भएर नगरपालिकाद्वारा आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पेश गर्नुअघि सार्वजनिक सूचना मार्फत सुझाव माग गरिएको अवसरमा एक जिम्मेवार नगरवासीका हैसियतले निम्न सुझावहरु पेश गरेको छु।

१. बुढानीलकण्ठ नगरपालिकामा पढेलेखेका युवाहरुको अध्ययन, खोज, अनुसन्धान, छलफल एवम् अन्तरकृया गर्नका निम्ति ‘बूढानीलकण्ठ युथ सेन्टर’ निर्माण गरिनु आवश्यक छ। नयाँ र सान्धर्भिक किताब, कम्प्युटर सहितको एउटा अत्याधुनिक युथ सेन्टर निर्माण गर्नुले स्थानीय स्तरमा युवाहरुको सकृय सहभागीता गराउने एवम् उनीहरुको बौद्धिक क्षमता अविवृद्धि गर्नमा मद्धत पुग्नेछ।

२. बूढानीलकण्ठ नगरपालिका एक पर्यटकीय स्थल भएकाले यहाँ लाखौँ व्यक्तिहरुको आवतजावत हुन्छ। यस नगरपालिकामा खानेपानीका सार्वजनिक धाराहरु निर्माण हुन आवश्यक छ। शिवपुरी राष्ट्रिय निकुन्जको फेदमा बसेर पानी किनेर खानुपर्ने बाध्यता हटाउनसके बूढानीलकण्ठ नगरपालीकाको उच्च नाम रहन्छ। त्यसका निम्ति आवश्यक प्रविधि एवम् व्यवस्था निर्माण गर्न सकिन्छ।

३. जन स्वास्थ्यको उच्च ख्याल गर्दै बूढानीलकण्ठका हरेक वडामा एक एक वटा सुविधासम्पन्न ‘बूढानीलकण्ठ हेल्थ क्लब’ निर्माण हुन आवश्यक छ।

४. धार्मिक स्थलले अत्यन्त धनी बूढानीलकण्ठमा सबै देवी देवताका मन्दिर, गुम्वा, चर्च छन् तर अल्पसंख्यक मुस्लिमहरुको प्रार्थनाका निम्ति एउटा पनि धार्मिक स्थल छैन। बूढानीलकण्ठ नगरपालिकामा एउटा मस्जिदको निर्माणले बूढानीलकण्ठका अल्पसंख्यक मुस्लिमहरुको ठूलो सहयोग हुन्छ। नगरपालिकाको वृहत्तर विकासको साझेदारीमा सम्पूर्ण समूदायको अपनत्व ग्रहण हुन्छ। यि सुझावहरुको कार्यान्वयनका निम्नि नगरपालिकालाई चाहिने आवश्यक सहयोग गर्न एवम् सल्लाह सुझाव दिन सदैव तयार छु।

धन्यवाद सहित,

अब्दुस मियाँ, बूढानीलकण्ठ नगरपालिका, वडा नं. १