(निर्माेही व्यास नेपाली साहित्यमा छन्दाेबद्ध रचनाका पारखिहरूका लागि चिरपरिचित नाम हाे । वेदव्यास उपाध्याय मूल नाम भएका उनकाे साहित्यिक नाम निर्माेही व्यास हाे । उनी कवितामात्र नभै कथा उपन्यास र यात्रा स्मरण विधामा पनि मूर्धन्य हस्ताक्षर हुन् । २००४ भदौ ९ मा बाराको कलैया भवानीपुरमा जन्मेका उनको  जीवनको उर्वर समय तराईमा बसेर शिक्षण संगै साहित्य सृजना र साहित्यको जगेर्नामा कृयाशिल रह्याे ।  उनै साधक निर्माेही व्यासले लेखेकाे एक छन्दाेबद्ध कविता यहाँ प्रस्तुत छ ।)

”भूतलाई भनी द्यौता म गरूँ किन पूजन ?”

  • निर्माेही व्यास

भूतलाई भनी द्यौता म गरूँ किन पूजन ?

गरूँ किन म दुष्टात्मा दैत्यको अभिनन्दन ?

प्यारो छ अस्मिता मेरो गरूँ किन समर्पण ?

दिन्छु हाँक, तिमी आऊ वरु गर्न महारण ।

 

लोभ्याउनू तिनैलाई जो दासत्व सकार्दछन्

जालमा कसरी पर्छन् जो मर्न तम्तयार छन् ?

मेरो जीवनमा तिम्रो हस्तक्षेप सहूँ किन ?

मूर्तिझैँ हात बाँधेर चुपचाप रहूँ किन ?

 

अनीतिको महावैरी महामित्र म नीतिको

तयार छु कुरा गर्न शान्ति सद्भाव प्रीतिको

म मृत्युपत्रमा ज्यूँदै कसरी गरुँला सही ?

हत्केलामा जमाएर कसरी बसुँला दही ?

 

छ थाहा राम्ररी तिम्रो मलाई दाउपेचको

बिर्सिदेऊ तिमी देख्न सपना किनबेचको

बाँच्नुको हैन पर्याय सास फेर्नु र खानु नै

सबैले दुनियाँबाट पर्छ आखिर जानु नै ।

 

मर्नै छ, कालका साथ बरु जिस्केर मर्छु म

किमार्थ तर दासत्व कहिल्यै म अँगाल्दिन

मेरो जीवनको साक्षी यै चिन्तन चिरन्तन

त्यसैले छु म निश्चिन्त— ‘कहिले पनि मर्दिन’ ।