कृष्णा गण्डकी डाइभर्सन विरुद्ध मा

  • कृष्णशरण उपाध्याय पाैडेल

छन्द : शार्दूलविक्रीडित

लाखौं वर्ष अगाडि को प्रकृति नै , मास्ने तिमी को भन ?
कृष्णा को जल डाइभर्सन गरी , नास्ने तिमी को भन ?
के पर्यावरणीय प्राकृतपना , मासिन्न यो काम ले ?

के भौगोलिक जैविकी विविधता , नासिन्न यो काम ले ?

आँखा गाड्न यहाँ नलाग यसरी , अर्कै अपेक्षा गर
मान्छे भाँड्न नलाग झन् बल गरी , आफ्नै सुरक्षा गर

बग्ला रक्त नदी असङ्ख्य जन को , बेला छँदै भन्छु म

तिम्रो दुच्छर राजनीति अहिले , बेकार सम्झन्छु म

 

हाम्रो गण्डक – सभ्यता – शिखर मा , आगो लगायौ भने
हाम्रो सुन्दर सौम्य शान्ति सुख मा , खाँडो जगायौ भने

तिम्रा कुत्सित कार्य – सूचि अहिले , सम्झेर गन्दैछु म

तिम्रो जीवन भस्म हुन्छ पहिले , यो सत्य भन्दैछु म

 

कृष्णा को जल साथ धार्मिकपना , जोडिन्छ नेपाल को

आस्थायुक्त पवित्र मार्मिकपना , जोडिन्छ नेपाल को

तिम्रो के हक लाग्छ खोस्न सब को,आध्यात्मिकी साधना ?

तिम्रो के अधिकार लुट्न अरु को , पौराणिकी भावना ?

 

कृष्णा साथ छ देवघाट महिमा , सर्वोच्च धर्म स्थल
कृष्णा – शालिकराम को छ गरिमा , संसार मै उज्ज्वल

बग्छन् पुण्यमयी पवित्र सलिला , कृणा – त्रिशूली मिली

हाम्रो धार्मिक भावना छ यसमा , छन् साथ पुष्पाञ्जलि