केपि ओलीले पछिल्ला ६ वर्षदेखि रटान गरेकाे विषय हाे तुइन विस्थापन । उनले पछिल्ला २ वर्षमा सयपटकभन्दा धेरै आफूले तुइन विस्थापित गरेकाे भन्दै आएका थिए । तुइनकै डाेरीमा चढेर चुनाव जित्न सकिएला कि झैँ गरेर ओलीकाे तुइन महात्म्य अझै सुन्न पाइरहनेछ । तथापि देशमा अझै २ दर्जनभन्दा धेरे तुइन संचालित छन् । यी त भए संचालित भैरहेका तुइनका कुरा ।

२ दिन अघि प्रधानमन्त्रिकाे जागिर फुस्किउका केपि ओलीकै पालामा राजधानीसँगै जाेडिएकाे सिन्धुपाल्चाेक जिल्लामा तुइन बन्दै थियाे । दुइगाउँबीच आवत जावत गर्न गाराे भएपछि सिन्धुपाल्चाेक जिल्ला जुगल गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलामा तुइन हालिँदै छ । नेसम खोलाको झोलुंगे पुल बाढीले बगाएको एक महिना भैसक्दा पनि स्थानीय तह तथा अन्य सरोकारवालालाई गुहार्दा  सुनुवाइ नभएपछि स्थानीयले चन्दा उठाएर उक्त स्थानमा तुइन बनाउन थालेका हुन् ।

कान्तिपुरले प्रकाशित गरेकाे समाचारका अनुसार स्थानीयहरूले  अन्य विकल्प नहुँदा असार १ यता स्थानीय चुँडिएको झोलुंगे पुलमै झुन्डिएर जोखिमपूर्ण रूपमै आउजाउ गरिरहेका छन् । ‘तुइन निर्माणको ८० प्रतिशत काम सकिएको छ । यसका लागि झन्डै ७ लाख खर्च हुने अनुमान गरेका छौं । त्यसका लागि पार्टीका कार्यकर्ता तथा समाजका सबै पक्षसँग चन्दा उठाएर निर्माणमा खट्दै छौं,’ निर्माणस्थलमै भेटिएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले भने ।

उनका अनुसार तुइनका लागि लट्ठा, कोक्रोलगायत सामग्री खरिद, पोल र जिप निर्माण तथा कंक्रिटिङको काम सकिएको छ । साता दिनभित्र तुइन सञ्चालनमा ल्याइसक्ने उनको भनाइ छ । ‘जोखिमपूर्ण रूपमा पुलमा झुन्डिएर यात्रा गर्नुको बदला तत्काललाई तुइन हालेर सम्पर्क जोडिएको हो । तर दीर्घकालीन रूपमा यो उपयोगी हुने छैन, झोलुंगे या मोटरेबल पुल जरुरी देखिन्छ,’ उनले भने ।

बाढी गएको २५ दिनपछि अवलोकनका लागि हेलम्बुको गणेशेबगर र मेलम्ची नगर पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोले जुगलमा पुर्‍याएको क्षतिबारे चासो राख्दै पुनर्निर्माणमा जुट्ने आश्वासन दिएका थिए । तर कतैबाट पहल भएको थिएन । सडक, बिजुली, उच्च शिक्षाजस्ता विकासको पर्खाइमा रहेका यी तीन गाउँका २ सय २० परिवारलाई सामान्य ओषधोपचार तथा किनमेलका लागि गुम्बाथान बजार आउन यही पुलको भर थियो । तर पुल नै बगाएपछि उक्त क्षेत्रका बाढीपहिरोपीडितलाई पनि हेलिकप्टरबाटै राहत सामग्री ढुवानी गरिएको थियो ।